काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन सम्बन्धी उजुरीका आधारमा ७५ जना राजनीतिक दल र उम्मेदवारसँग स्पष्टीकरण माग गरेको जनाएको छ। तीमध्ये ५२ जनाले लिखित जवाफ पेश गरिसकेका छन्।
आयोगका उपसचिव तथा सहायक प्रवक्ता सीता पुनका अनुसार, केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरीमध्ये प्रमाणित आधार देखिएका प्रकरणमा सम्बन्धित पक्षसँग स्पष्टीकरण माग्ने प्रक्रिया अघि बढाइएको हो। बाँकी व्यक्तिहरूबाट जवाफ प्राप्त हुने क्रम जारी रहेको छ। आगामी फागुन २१ गतेको निर्वाचनका सन्दर्भमा आचारसंहिता उल्लङ्घन देखिएपछि आयोगले अनुगमनलाई तीव्र बनाएको जनाएको छ।
जिल्लास्तरमा अनुगमन प्रभावकारी बनाउन ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई समग्र विषयको, र प्रमुख कोष नियन्त्रकलाई आर्थिक पक्षको अनुगमन जिम्मेवारी दिँदै आचारसंहिता अनुगमन अधिकृत तोकिएका छन्। ती अधिकृतहरूले राजनीतिक दल, उम्मेदवार र सरोकारवालासँग समन्वयात्मक छलफल गर्ने, उल्लङ्घनसम्बन्धी जानकारी संकलन गर्ने र आवश्यक परे स्पष्टीकरण माग्ने कार्य गर्दै आएका छन्।
आयोगले आचारसंहिताको पालना सुनिश्चित गर्न प्राप्त उजुरीमाथि जाँचबुझ र कारबाही प्रक्रिया निरन्तर अघि बढाइरहेको बताएको छ। यस कार्यमा केन्द्रीय तथा जिल्ला अनुगमन समिति, अनुगमन अधिकृत र सम्बन्धित निर्वाचन कार्यालयहरू सक्रिय रहेका छन्।
प्रकाशित मिति: ९ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया