काठमाडौं । दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एक कार्यक्रममा सहभागी केही कार्यकर्ता तथा समर्थकहरूले स्वर्गीय राजा वीरेन्द्रको शालिकमाथि चढेर असम्मानजनक व्यवहार गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ खुश्बु ओलीले आपत्ति जनाएकी छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै ओलीले उक्त घटनालाई गम्भीर सार्वजनिक सरोकारको विषयका रूपमा व्याख्या गरेकी छन्। उनले नयाँ राजनीतिक शक्तिको अनुशासन, राजनीतिक संस्कार र सार्वजनिक व्यवहारमाथि यस घटनाले प्रश्न उठाएको टिप्पणी गरेकी छन्।
तुलसीपुरको मुख्य चोकमा रहेको शालिकमाथि गरिएको व्यवहारलाई उनले ‘सामान्य त्रुटि’का रूपमा लिन नसकिने बताउँदै यसले समाजको सभ्यतागत स्मृति, सांस्कृतिक मर्यादा र ऐतिहासिक चेतनामाथि आघात पुर्याएको उल्लेख गरेकी छन्।
‘यस प्रकारको गतिविधिले हाम्रो समाज आफ्नै इतिहास र पहिचानप्रति कति सचेत छ भन्ने गम्भीर प्रश्न खडा गरेको छ,’ ओलीले लेखेकी छन्, ‘यसले राजनीतिक साक्षरता र नागरिक शिक्षाको अभावसमेत झल्काउँछ।’
ऐतिहासिक व्यक्तित्व तथा सार्वजनिक स्मारकहरू सामूहिक स्मृति र पहिचानका प्रतीक हुने उल्लेख गर्दै उनले यस्ता अमर्यादित व्यवहारले सम्बन्धित पक्षको छवि र राजनीतिक विश्वसनीयतामा दीर्घकालीन असर पार्न सक्ने चेतावनी दिएकी छन्।
प्रकाशित मिति: ९ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया