सर्लाही । नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गगन थापाले मतदातासँग संवाद गर्दै आफ्नो चुनावी प्रतिबद्धता व्यक्त गरेका छन्।
सर्लाही निर्वाचन क्षेत्र–४ अन्तर्गत भगवतीपुर र सिमरामा घरदैलो कार्यक्रमका क्रममा मतदाताले चुनावको बेला मात्र आउने सांसदप्रति असन्तोष देखाएपछि थापाले आफ्नो निर्वाचन क्षेत्रमा स्थायी रूपमा सम्पर्क कार्यालय राखेर काम गर्ने वाचा गरेका छन्। उनले भने, ‘अब तपाईंहरूलाई सांसद खोज्दै दौडिनु पर्दैन, म आफैँ यहाँ आउनेछु। सर्लाही अब मेरो निर्वाचन क्षेत्र हो, यहाँ मेरो सम्पर्क कार्यालय र टिम हुनेछ। कुनै पनि समस्यामा ‘गगन दाइ’लाई सम्पर्क गर्न सकिनेछ।’
थापाले नेपालको नेतृत्व पहाड र काठमाडौं मात्र जानेर सम्भव नहुने भन्दै मधेसको अवस्था बुझ्न आफू सर्लाही आएको बताएका छन्। उनले मतदातालाई आश्वस्त पार्दै भने, ‘म मधेस बुझ्न, यहाँको समस्यामा काम गर्न र यहाँको हुन सर्लाही आएको हुँ। अब घरघर हिँडेर मत माग्दै नथाक्नुहोस्, म तपाईंहरूको जिम्मा लिन्छु।’
उनले कांग्रेस नेतृत्वमा सरकार बनेपछि नागरिकले अस्पतालमा उपचारको लागि खल्तीबाट एक रुपैयाँ पनि तिर्न नपर्ने व्यवस्था बनाउने प्रतिवद्धता जनाए। साथै किसान, विशेष गरी उखु किसानका समस्याका विषयमा आफूले प्रधानमन्त्रीसँग छलफल गरेको र समाधानको प्रयास भइरहेको जानकारी दिएका छन्।
थापाले हालै सर्लाही–४ मा इन्जिनियरिङ कलेज खोल्ने निर्णय भइसकेको र किड्नी उपचार केन्द्र पनि सोही क्षेत्रमा निर्माण गरिने निर्णय गरिएको बताएका छन्। उनले भने, ‘गगन थापाको क्षेत्रमा अब बाटो र अस्पतालको अवस्था सुधारिनेछ। मतदाताले मलाई काम गर्ने मौका दिनुहोस्, म काम गर्छु।’
आफ्नो चुनावी सन्देशमा उनले मतदातालाई अन्य पार्टीको प्रचारमा नफस्न र विकास कार्यका लागि आफूलाई विश्वास गर्न आह्वान गरेका छन्। उनले जोड दिए, ‘केको एमाले, केको माओवादी, केको रास्वपा? अब कुनै अन्य उम्मेदवार छैन। सर्लाहीको विकास गर्न गगन थापा आएको छ भनेर मत दिनुहोस्।’
प्रकाशित मिति: ९ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया