काठमाडौं । पुष्पकमल दाहालले चुनाव नहुने भन्ने हल्ला फैलाउनेप्रति कडा आपत्ति जनाएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक दाहालले इतिहासले अस्वीकार गरिसकेका केही शक्तिहरूले निर्वाचनबारे भ्रम सिर्जना गरिरहेको आरोप लगाए।

नेकपा दोलखा–काठमाडौँ सम्पर्क निर्वाचन परिचालन समितिले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले निर्वाचन निश्चित भइसकेको अवस्थामा त्यसलाई रोक्ने वा अविश्वास पैदा गर्ने प्रयास भइरहेको बताए। उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै वर्तमान समस्याको समाधानबिना चुनावमा जान नहुने भन्ने अभिव्यक्तिलाई लक्षित आलोचना गरे।

advertisement

दाहालले कार्यकर्ता र समर्थकलाई चुनाव नहुने हल्लाको पछि नलाग्न र दृढतापूर्वक तयारीमा जुट्न आग्रह गरे। ‘निर्वाचनको मिति नजिकिँदै गर्दा प्रतिक्रियावादी र प्रतिगामी शक्तिहरूको चलखेलको कुनै अर्थ छैन,’ उनले भने, ‘वर्तमान परिस्थितिमा निर्वाचन नै सबैभन्दा उपयुक्त र तुलनात्मक रूपमा सहज विकल्प हो।’

उनले देशभरि पार्टीको प्रचार अभियान तीव्र रूपमा अघि बढिरहेको उल्लेख गर्दै बाँकी दिनहरू युद्धस्तरमा खटिए नेकपालाई देशको पहिलो पार्टी बनाउने सम्भावना रहेको दाबी गरे।

‘केही दिन हावाहुरी चलेजस्तो देखिए पनि त्यो स्थायी हुँदैन भन्ने कुरा जनताले बुझिसकेका छन्,’ दाहालले भने। उनले थपे, ‘यो कठिन घडीमा राष्ट्रलाई जोगाउने, अतिवादविरुद्ध लड्ने र देशलाई सन्तुलित विकासको मार्गमा अघि बढाउने संकल्पका साथ नेकपा उभिएको छ।’

प्रकाशित मिति: ९ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com