काठमाडौं। चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख बराबरको वैदेशिक व्यापार भएको छ।

भन्सार विभागका अनुसार समीक्षा अवधिमा रु ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाखको आयात र रु एक खर्ब ६८ अर्ब १४ करोड ५८ लाख बराबरको निर्यात भएको छ। यो अवधिमा मुलुकले रु नौ खर्ब ५५ अर्ब ३४ करोड तीन लाख घाटा बेहोरेको छ।

advertisement

भारतसँग बितेका सात महिनामा रु छ खर्ब २९ अर्ब २९ करोड ५९ लाखको आयात र रु एक खर्ब ३७ अर्ब ५१ करोड ७४ लाखको निर्यात हुँदा मुलुकले रु चार खर्ब ९१ अर्ब ७७ करोड ५१ लाख बराबरको व्यापार घाटा बेहोरेको छ। चीनसँग रु दुई खर्ब ३५ अर्ब ३८ करोड २३ लाखको आयात र रु ९० करोड एक लाख बराबरको निर्यात हुँदा रु दुई खर्ब ३४ अर्ब ४८ करोड २२ लाख बराबरको घाटा भएको छ।

विभागले सार्वजनिक गरेको विवरणअनुसार अर्जेन्टिनासँग रु ६६ अर्ब ११ करोड ६६ लाख, संयुक्त अरब इमिरेट्ससँग रु ३९ अर्ब ७७ करोड ९८ लाख, इन्डोनेसियासँग रु १२ अर्ब ६४ करोड ४५ लाख बराबरको व्यापार घाटा देखिन्छ।

व्यापार नाफा बढी रहेका मुलुकमा भने रोमानियासँग यो अवधिमा रु पाँच करोड ५२ लाख, नर्वेसँग रु तीन करोड ३३ लाख र आइसल्याण्डसँग रु दुई करोड ५७ लाख बराबरको व्यापार नाफा देखिन्छ।

पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ। यो अवधिमा रु ६९ अर्ब ९१ करोड २२ लाखको डिजेल, रु ३८ अर्ब १३ करोड ८६ लाखको पेट्रोल र रु ३१ अर्ब ८५ करोड नौ लाख बराबरको खाना पकाउने ग्यास आयात भएको छ।

यसैगरी, रु ३१ अर्ब नौ करोड १२ लाख बराबरको फलाम तथा फलामजन्य वस्तु, रु २१ अर्ब ३२ करोड ६१ लाख बराबरको स्मार्टफोन, रु ५९ अर्ब १३ करोड ८२ लाख बराबरको कच्चा सोयाबिन तेल, रु २१ अर्ब २० करोड बराबरको सुन आयात भएको छ।

बढी निर्यात भएका वस्तुमा सोयाबिन तेल रु ६६ अर्ब ७८ करोड ८७ लाख बराबरको निर्यात भएको छ। अलैँची रु आठ अर्ब ६१ करोड २० लाख, सूर्यमुखी तेल रु पाँच अर्ब ७८ करोड, कार्पेट रु पाँच ७१ करोड ८८ लाख ६९ हजार बराबरको निर्यात भएको विभागको तथ्याङ्क छ।

प्रकाशित मिति: ९ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com