काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विकासको काम कसैलाई डर देखाएर वा ‘रुखमा झुन्ड्याएर’ अघि बढ्न नसक्ने स्पष्ट पारेका छन्। उनी विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्।

सर्लाहीमा शनिबार आयोजित कार्यक्रममा सभापति थापाले कानुनी संरचना र समयमै काम पुरा गर्न नसक्दा सिर्जित समस्याबारे चर्चा गर्दै भने, ‘विकासको गति रोक्ने वा ढिला गराउने ठेकेदारलाई रुखमा झुन्ड्याइदिन्छु भन्ने अभिव्यक्ति सुन्ने क्रममा छौँ। यस प्रकारको डर देखाएर मात्र विकास अघि बढ्दैन। सुधार गर्न समय, कानुन र योजनाबद्ध कदम आवश्यक छ।’

advertisement

थापाले केही दिनअघि रास्वपाले सुदूरपश्चिमको धनगढीमा आयोजना गरेको चुनावी सभामा दुई वर्षमा सक्नुपर्ने काम २० वर्षसम्म नहुने अभिव्यक्तिसँग पनि प्रतिक्रिया दिएका हुन्। उनले भने, ‘सबैलाई फटाहा भनेर डर देखाएर मात्र विकास सम्भव छैन। सुधार महँगो हुन्छ र लोकतन्त्रको मूल्यमा आधारित हुनुपर्छ।’

सभापति थापाले देशमा सुधार, सुशासन र विकास आवश्यक रहेको र त्यसका लागि योजनाबद्ध काम गर्नुपर्ने बताए। उनले आफ्नो पार्टीभित्र पूर्वाधारको मीमांसा कार्यक्रम सञ्चालन गर्दै सडक, पुल र सिँचाइका परियोजनाहरूमा निरीक्षण गरेको जानकारी दिए।

थापाले उल्लेख गरे, ‘काम छिटो सम्पन्न गर्न कानुन सुधार अनिवार्य छ। गुणस्तरीय र समयमै काम गर्नेले मात्र ठेक्का पाउने वातावरण बनाउनु पर्छ। उदाहरणका लागि, ऊर्जा परियोजना अनुमति लिन चाहिँ २७ वटा सरकारी कार्यालयको ढोका पुग्नुपर्ने अवस्था छ। यस्तो प्रक्रियाले काम सुरु गर्न पनि दुई वर्ष अतिरिक्त समय लाग्छ। कानुन सरल र व्यवस्थित बनाउनु अघि गति बढ्दैन।’

उनले जोड दिए, ‘यस्ता संरचना सुधारेर मात्र विकासको वास्तविक गति सुनिश्चित गर्न सकिन्छ। डर देखाएर वा धम्की दिएर होइन।’

प्रकाशित मिति: ९ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com