काठमाडौं । निर्वाचनलाई अझ बढी सहभागितामूलक बनाउने तथा बदर मतको प्रतिशत घटाउने उद्देश्यले निर्वाचन आयोग ले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ। आम नागरिकलाई मताधिकारको महत्व र मतदान प्रक्रियाबारे जानकारी दिने लक्ष्यसहित आयोगले स्वीकृत कार्यक्रम कार्यान्वयनमा ल्याएको हो।

आयोगका अनुसार फागुन ३ देखि १७ गतेसम्म देशका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको छ। ती स्वयंसेवकले मतदाताको बस्ती र घरदैलोमै पुगेर नमूना मतपत्रको प्रयोगमार्फत निर्वाचनको महत्व र मतदान गर्ने तरिकाबारे जानकारी दिइरहेका छन्।

advertisement

यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आयोगले स्थानीय तहमा तोकिएका सम्पर्क व्यक्तिलाई अनुगमनकर्ताको जिम्मेवारी दिई अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न गरिसकेको छ।

त्यसैगरी, निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने, मिथ्या तथा भ्रमपूर्ण सूचना फैलाउने र घृणास्पद अभिव्यक्ति दिने व्यक्ति तथा संस्थामाथि निगरानी बढाइएको आयोगले जनाएको छ। यस्ता गैरकानुनी गतिविधिमा संलग्नलाई नियामक निकायसँग समन्वय गरी कानुनी दायरामा ल्याउने प्रयास भइरहेको छ।

आयोगअन्तर्गत स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रको सूचना सदाचार प्रवर्द्धन एकाइ सक्रिय रूपमा कार्यरत रहेको छ। हानिकारक सूचना उत्पादन तथा प्रसारण गर्ने २९० कन्टेन्ट उत्पादक र प्रसारकविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता गरिएको छ।

यसैगरी, ११ वटा प्रकरण दूरसञ्चार प्राधिकरण ऐन, २०५२ अनुसार नेपाल दूरसञ्चार प्राधिकरणमा, ६५ वटा प्रकरण प्रेस काउन्सिल ऐन, २०४८ अनुसार प्रेस काउन्सिल नेपालमा, र एउटा प्रकरण विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ अनुसार सम्बन्धित निकायमा कारबाहीका लागि पठाइएको आयोगले जनाएको छ।

प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com