पाल्पा। नेपाल कम्युनिष्ट पार्टी (एमाले) पाल्पा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार ठाकुर प्रसाद गैरेले आसन्न निर्वाचनमा आफ्नो पार्टीले ३० हजारभन्दा बढी मतसहित विजय हासिल गर्ने दाबी गरेका छन्।
घरदैलो अभियानलाई तीव्र पार्दै उनले एमालेको राष्ट्रियता र विकासको एजेन्डा बलियो रहेको उल्लेख गरे। रिब्दीकोट गाउँपालिकाका ठिमुरे, बल्घा, ढुस्टुङ र लघुवा लगायत क्षेत्रमा मतदातासँग भेटघाट गर्दै उनले विगतको कार्यकालमा राजनीतिक अस्थिरताका कारण सोचेजस्तो काम गर्न नसकिएको अनुभव सुनाए।
“अघिल्लो पटक जनताको सेवा गर्ने दृढ इच्छाशक्ति हुँदाहुँदै पनि पूरा समय काम गर्न पाइएन,” उनले भने, “यसपटक अधुरा काम पूरा गरेर पाल्पाको मुहार फेर्ने संकल्पसहित आएको छु।”
रिब्दीकोटको लघुवा क्षेत्रमा कृषिको आधुनिकीकरणतर्फ भइरहेको पहलप्रति खुशी व्यक्त गर्दै उनले कृषिमा आधारित स्वरोजगारलाई प्राथमिकता दिने बताए। शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासमा नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले त्यो एमाले नेतृत्वबाट सम्भव हुने दाबी गरे।
निर्वतमान सांसदसमेत रहेका गैरेले कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गरी गाउँमै रोजगारी सिर्जना गर्ने योजना रहेको बताए। “जनताले विकास र राष्ट्रियताको पक्षमा मतदान गर्नेछन्,” उनले थपे, “एमाले नै देशको विकास र समृद्धिको भरपर्दो शक्ति हो।”
चुनावी अभियानमा एमालेका स्थानीय नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो। भेटघाटका क्रममा मतदाताले सडक, खानेपानी र कृषिको बजारीकरणमा ध्यान दिन उम्मेदवारलाई सुझाव दिएका थिए।
प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार












प्रतिक्रिया