एजेन्सी । पाकिस्तानले अफगानिस्तानसँग जोडिएको सीमावर्ती क्षेत्रमा हवाई आक्रमण गरेको जनाएको छ।
पाकिस्तानी सरकारी स्रोतका अनुसार गएराति नंगरहार र पक्तिका प्रान्तसँग सीमा जोडिएको क्षेत्रमा आतंकवादी अड्डा र तालिम शिविरलाई लक्ष्य गरी हवाई कारबाही गरिएको हो। पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयले झन्डै सात स्थानमा एकैपटक आक्रमण गरिएको जानकारी दिएको छ।
पाकिस्तानले ती स्थानहरूमा तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) सँग आबद्ध समूह ‘फितना अल–ख्वारिज’ तथा उसका सहयोगी संगठनहरू र इस्लामिक स्टेट खोरासन प्रान्त (आईएसकेपी) का आधारस्थल रहेको दाबी गरेको छ। पछिल्लो समय राजधानी इस्लामावादसहित विभिन्न स्थानमा भएका आत्मघाती बम विस्फोट र हिंसात्मक घटनामा आईएसकेपीले जिम्मेवारी लिएको र अन्य घटनामा पनि यिनै समूहहरूको संलग्नता रहेको प्रमाण भेटिएको पाकिस्तानको भनाइ छ।
पाकिस्तानले यसअघि नै यस्ता समूहविरुद्ध कारबाही गर्न र अफगानी भूमि पाकिस्तानविरुद्ध प्रयोग हुन नदिन काबुल प्रशासनलाई आग्रह गर्दै आएको थियो।
तर अफगानिस्तानको तालिबान नेतृत्वको सरकारले भने पाकिस्तानी सेनाले आफ्नो हवाई सीमा उल्लंघन गरी आक्रमण गरेको आरोप लगाएको छ। तालिबान सरकारका प्रवक्ता जाबिहउल्लाह मुजाहिदले नंगरहार र पक्तिकामा भएको बमबारीबाट महिला र बालबालिकासहित दर्जनौं सर्वसाधारणको मृत्यु तथा घाइते भएको दाबी गरेका छन्।
मुजाहिदले पाकिस्तानले आफ्ना आन्तरिक सुरक्षा कमजोरी ढाकछोप गर्न यस्तो कदम चालेको आरोपसमेत लगाएका छन्।
सीमाक्षेत्रमा बढ्दो तनावले दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बन्ने संकेत देखिएको छ। पछिल्ला वर्षहरूमा सीमा पार गतिविधि र आतंकी हमलाका विषयमा दुवै पक्षबीच निरन्तर आरोप–प्रत्यारोप हुँदै आएको छ।
प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार












प्रतिक्रिया