झापा। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई ‘देश बनाउने र देश जलाउने’ शक्तिहरूबीचको लडाइँको रूपमा चित्रण गरेका छन्।

झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशको सार्वभौमसत्ता, विकास र समृद्धिका लागि एमालेले जित्नैपर्ने दाबी गरे। आफ्ना पुराना राजनीतिक सहयात्रीहरू हरिवंश सिवाकोटी र डा. केआर खम्बु लगायतका पुराना नेताहरूको योगदानको स्मरण गर्दै ओलीले एमाले ५०–६० वर्षदेखि निरन्तर आन्दोलनमा रहेको र देशको भविष्य यसै पार्टीसँग सुरक्षित रहेको बताए। अध्यक्ष ओलीले निर्वाचन रोक्ने र बिथोल्ने प्रयासहरू भइरहेको भन्दै आपत्ति जनाए।

advertisement

‘अहिले पनि निर्वाचन रोक्ने प्रयास भइरहेका छन्, तर हामी नअल्मलिकन विजयको तयारीमा लाग्छौं,’ उनले भने। विपक्षी दलहरूले एमालेको झण्डा जलाउने र अवाञ्छित क्रियाकलाप गरेर निर्वाचनको वातावरण बिगार्न खोजेको आरोप लगाउँदै उनले झण्डाको अपमान गर्नु निर्वाचन विरूद्धको अपराध भएको बताए। आफ्नो नेतृत्वको सरकारले गरेका कामहरूको फेहरिस्त प्रस्तुत गर्दै ओलीले एमाले मात्रै चुनाव जित्ने हक राख्ने पार्टी भएको दाबी गरे।

उनले हुलाकी राजमार्गको निर्माण, ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्‍याएको, साक्षरता प्रतिशतमा वृद्धि, र एकैपटक ३९६ वटा आधारभूत अस्पतालको शिलान्यास गरेको स्मरण गराए।‘हिजो हुलाकी बाटोमा चप्पल टाउकोमा बोकेर हिँड्नुपर्थ्यो, आज त्यहाँ आधुनिक सडक बनेका छन्,’ उनले भने, ‘बाल मृत्युदर र सुत्केरी मृत्युदर घटाउन हामीले दुर्गमबाट हेलिकप्टरमा उद्धार गर्ने व्यवस्था सुरू गर्‍यौं।’ आफूमाथि भइरहेका प्रहारहरूको जबाफ दिँदै अध्यक्ष ओलीले देशको माया गरेको र भ्रष्टाचार नगरेकै कारण आफू निशानामा परेको बताए।

‘मैले ६० वर्षको राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ र गर्ने पनि छैन,’ उनले दृढता व्यक्त गरे, ‘मिचिएको भूभाग फिर्ता ल्याउन थालेको र उत्तरतर्फका नाकाहरू खोलेका कारण ममाथि प्रहार भइरहेको छ।’ उनले नेपाललाई जात, धर्म र भूगोलका नाममा विभाजित गर्न खोज्ने तत्वहरू विरूद्ध आफू ढाल बनेर उभिएको बताए। एमाले कसैको कठपुतली नभएको र देशको एक इन्च जमिन पनि तलमाथि हुन नदिने उनको उद्घोष थियो।

अध्यक्ष ओलीले क्षेत्र नम्बर ३ का उम्मेदवार हरिबहादुर राजवंशीको पक्षमा मतदान गर्न मतदाताहरूलाई विशेष आग्रह गरे। सूर्य चिह्नको धार्मिक र सांस्कृतिक महत्व दर्शाउँदै उनले भने, ‘सूर्यले जगतलाई उज्यालो, जीवन र न्यानो दिन्छ। त्यही सूर्य बोकेर हरिबहादुर आउनुभएको छ।’ कार्यक्रममा एमाले प्रवेश गरेका युवाहरूलाई स्वागत गर्दै ओलीले पार्टी छोडेर गएकाहरूलाई पनि फर्कन आग्रह गरे।

केही महिना काम गरेर पद खोज्ने प्रवृत्तिप्रति कटाक्ष गर्दै उनले भने, ‘यो आन्दोलन व्यक्तिगत लाभका लागि होइन, देशलाई के दिने भन्ने सोचेर लाग्ने हो।’ उनले आगामी फागुन २१ को निर्वाचनमा एमालेको विजय सुनिश्चित गराउन गाउँ–गाउँ र घर–घरमा राष्ट्रिय एकताको सन्देश पुर्‍याउन कार्यकर्ताहरूलाई निर्देशन दिए।

प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com