काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्धारित मितिमै निर्वाचन सम्पन्न हुने स्पष्ट पार्दै सबै सरोकारवालालाई निश्चिन्त भएर तयारीमा जुट्न आग्रह गरेका छन्।
आइतबार राजधानीमा आयोजित कार्यक्रममा उनले केही तत्वहरूले निर्वाचन बिथोल्ने उद्देश्यले हल्ला फैलाए पनि त्यस्ता प्रयास सफल नहुने दाबी गरे। ‘निर्वाचन तोकिएकै समय र मितिमा हुन्छ,’ उनले भने, ‘भ्रममा नपरी प्रचार–प्रसारमा केन्द्रित हुनुस्।’
भण्डारीका अनुसार अझै पनि केही उम्मेदवारहरूले निर्वाचनबारे संशय व्यक्त गर्दै सम्पर्क गर्ने गरेका छन्। उनले अनावश्यक अफवाह र प्रायोजित प्रचारबाट सचेत रहन आग्रह गर्दै नेपाली जनता अब यस्ता हल्लाका साक्षी बस्न नसक्ने बताए।
निर्वाचन नै लोकतान्त्रिक अभ्यासको एकमात्र वैधानिक विकल्प भएको दोहोर्याउँदै उनले वातावरण बिथोलिने अवस्था नआउने जिकिर गरे। राजनीतिक दल, उम्मेदवार र तिनका कार्यकर्ता सक्रिय रूपमा प्रचारमा जुटिसकेको उल्लेख गर्दै उनले सबै शक्तिहरूले निर्वाचनलाई नै सही मार्गका रूपमा स्वीकार गरिसकेको बताए।
निर्वाचन अवरुद्ध पार्ने वा अस्थिरता सिर्जना गर्ने गतिविधि सरकारद्वारा नियन्त्रण गरिने र आयोगले पनि कडाइका साथ अनुगमन गरिरहेको उनले स्पष्ट पारे। वातावरण सुधारका लागि आयोगले सरकारलाई आवश्यक सुझाव दिइरहेको जानकारी पनि उनले दिए।
भण्डारीले निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न सबैलाई आग्रह गर्दै मत सर्वेक्षण नगर्न सञ्चार माध्यमहरूलाई सचेत गराए। पटक–पटक आग्रह गर्दा पनि केही सञ्चार माध्यमहरूले अटेर गरिरहेको भन्दै उनले आचारसंहिता उल्लंघन भए कानुनी कारबाही गर्न बाध्य हुने चेतावनी दिए।
प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार











प्रतिक्रिया