एजेन्सी । पाकिस्तानले अफगानिस्तानसँगको सीमावर्ती क्षेत्रमा रातभर शृङ्खलाबद्ध हवाई आक्रमण गरेको छ। तालिबान सरकारले दिएको जानकारीअनुसार यस आक्रमणमा महिला र बालबालिकासहित दर्जनौँ नागरिकको मृत्यु भएको छ।

पाकिस्तानले आफ्नो सुरक्षा बलले सीमा नजिकका सातवटा कथित चरमपन्थी शिविर र लुक्ने स्थानहरूलाई लक्षित गरी हवाई कारबाही गरेको दाबी गरेको छ। पाकिस्तानले यस कदमलाई हालैका आत्मघाती बम विष्फोटका घटनाको जवाफ भन्दै आवश्यक ठानेको बताएको छ।

advertisement

तालिबानको रक्षा मन्त्रालयका अनुसार पाकिस्तानी लडाकु विमानहरूले नान्गरहार र पक्तिका प्रान्तका नागरिक बस्ती र धार्मिक विद्यालयलाई निशाना बनाएका छन्। नान्गरहारका अधिकारीहरूले बीबीसीसँगको संवादमा शाहबुद्दीन नामक व्यक्तिको घरमा भएको बमबारीमा करिब २० नागरिकको ज्यान गएको पुष्टि गरेका छन्।

तालिबानले यो आक्रमणलाई अफगानिस्तानको क्षेत्रीय अखण्डताको उल्लङ्घन र अन्तर्राष्ट्रिय कानुनको विपरीत भएको भन्दै कडा शब्दमा निन्दा गरेको छ।

पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयले प्रतिबन्धित समूह तहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) र इस्लामिक स्टेट–खोरासान (आईएस–के) का अखडाहरूलाई लक्षित गरी ‘गुप्तचरमा आधारित छनौटपूर्ण हवाई हमला’ गरेको दाबी गरेको छ। पाकिस्तानले काबुलमा आश्रय पाएका आतङ्ककारी समूहले यसै महिनाको सुरुमा इस्लामावाद र खैबर पख्तुनख्वामा गरेको आत्मघाती बम विष्फोटको जिम्मेवारी लिएको बताएपछि यो कदम उठाएको जनाएको छ।

तालिबानले भने यो कदम आफ्नो सुरक्षा कमजोरी लुकाउन र गुप्तचर प्रणालीको असफलता ढाक्न गरिएको ठानेको छ। रक्षा मन्त्रालयले सामाजिक सञ्जालमार्फत उपयुक्त समयमा यसको ‘उचित र नापिएको जवाफ’ दिने चेतावनी पनि दिएको छ।

सीमा क्षेत्रमा भएको यो आक्रमणले अफगान–पाकिस्तान सम्बन्धलाई थप तिक्त बनाउने संकेत गरेको छ। गत अक्टोबरमा दुई देशबीच भएको कमजोर युद्धविराम समाप्त भएको यस घटनाले देखाएको छ।

सन् २०२१ मा तालिबान सत्तामा आएदेखि सीमावर्ती क्षेत्रमा पटक–पटक हिंसात्मक झडप भइरहेको छ। केही दिनअघि साउदी अरबको मध्यस्थतामा अफगानिस्तानले नियन्त्रणमा लिएका तीन जना पाकिस्तानी सैनिकलाई रिहा गरेको थियो।

करिब १ हजार ६ सय माइल लामो पहाडी सीमा जोडिएका यी दुई मुलुकबीच बढ्दो सैन्य तनावले दक्षिण एसियाको सुरक्षा अवस्थालाई चुनौतीपूर्ण बनाएको छ।

प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com