काठमाडाैं । उज्यालो नेपाल पार्टी का अध्यक्ष कुलमान घिसिङ ले आफ्नो पार्टी सबैभन्दा नयाँ र ऊर्जाशील राजनीतिक शक्ति भएको दाबी गरेका छन्।
आइतबार भैरहवामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनका माग सम्बोधन गर्नकै लागि पार्टी स्थापना गरिएको बताए। “टेस्टेड भनिएका पुराना पार्टीहरू नयाँ हुन सक्दैनन्,” उनले भने।
नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकको रूपमा काम गर्दा देशव्यापी लोडसेडिङ अन्त्य गरेको उल्लेख गर्दै घिसिङले अब समग्र क्षेत्रको ‘अँध्यारो’ हटाउने अभियानका साथ पार्टी अघि बढेको बताए। गरीब परिवारको जीवनस्तर उकास्न र सबै क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन उनेपा प्रतिबद्ध रहेको उनको भनाइ थियो।
पूर्वमन्त्रीसमेत रहेका घिसिङले मिटरब्याजी, लघुवित्त र सहकारी ठगी प्रकरणले किसान तथा विपन्न वर्ग मर्कामा परेको उल्लेख गरे। पीडितहरूको समस्या समाधानका लागि आयोग गठन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने एजेन्डा पार्टीले अघि सारेको उनले बताए।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य किरण विकले जेनजी आन्दोलनको मर्म स्वीकार्ने पहिलो नेता घिसिङ नै भएको दाबी गर्दै योग्य उम्मेदवारहरू मैदानमा उतारिएको बताए।
रूपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सरोज सिंह चौधरीले राजनीतिक स्थायित्व र देशलाई निकास दिन उज्यालो नेपाल पार्टी नै उपयुक्त विकल्प रहेको धारणा राखे।
प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार












प्रतिक्रिया