काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैंसीगौडामा भएको बस दुर्घटनामा ज्यान गुमाएका १९ जनामध्ये ९ जनाको सनाखत भएको छ।
उक्त दुर्घटनामा परी मृत्यु भएका अन्य १० जनाको भने अझै पहिचान खुल्न सकेको छैन।
सनाखत हुन बाँकी रहेका १० जना मृतकमध्ये ७ जना पुरुष र ३ जना महिला रहेका छन्। तीमध्ये एक पुरुषको भने काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार बसमा चालकमसहित २९ जना पुरुष र १५ जना महिला गरी जम्मा ४४ जना यात्रु सवार थिए। राति करिब १:३० बजेको समयमा भएको उक्त दुर्घटनाको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोर टोली र स्थानीयको सहकार्यमा तत्काल उद्धार कार्य सुरु गरिएको थियो।
दुर्घटनामा परी घाइते भएका २५ जनाको हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घटनास्थलबाट उद्धार गरिएका घाइतेहरुलाई सुरुमा मलेखुस्थित राजमार्ग सामुदायिक अस्पताल, टिचिङ अस्पताल मलेखु र जिल्ला अस्पताल धादिङबेंसीमा उपचारका लागि पठाइएको थियो।
त्यहाँबाट थप उपचारका लागि गम्भीर घाइतेहरुलाई काठमाडौं ल्याइएको छ। हाल १४ जना घाइतेको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा, १० जनाको कलंकीस्थित नेशनल मेडिकल कलेजमा र १ जनाको मलेखुस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ।
उक्त घटनाको सम्बन्धमा सूक्ष्म रूपमा अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया