काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ले झापा क्षेत्र नम्बर ५ मा देखिएको भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासको समस्या एक हजार दिनभित्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार सार्वजनिक गरिएको झापा–केन्द्रित प्रतिबद्धतापत्रमा उनले रास्वपा नेतृत्वको सरकार गठन भएको १०० दिनभित्र समस्या समाधानका लागि अधिकार सम्पन्न आयोग गठन गरिने र १००० दिनभित्र स्पष्ट नीति अवलम्बन गर्दै कार्यान्वयन सम्पन्न गरिने उल्लेख गरेका छन्। उनका अनुसार भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या न्यायोचित, दिगो र समयसीमाभित्र टुंग्याइनेछ।
अनौपचारिक तथ्यांकअनुसार झापा–५ मा करिब १२ हजार परिवारका झन्डै ३ हजार ५ सय व्यक्ति भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीका रूपमा रहेका छन्। जिल्लाभर भने यस्तो परिवारको संख्या ५० हजार ७ सयभन्दा बढी रहेको बताइएको छ।
क्षेत्रगत रूपमा हेर्दा दमक नगरपालिका मा ६ हजार ३४६, कमल गाउँपालिका मा ८१८, गौरादह नगरपालिका मा २ हजार ६६० र गौरीगञ्ज गाउँपालिका मा २ हजार १४६ भन्दा बढी परिवार भूमिहीन तथा अव्यवस्थित बसोबासको समस्याबाट प्रभावित छन्।
बालेनले रास्वपाको सरकार गठन भएमा यी सबै समस्यालाई एक हजार दिनभित्र समाधान गर्ने लक्ष्यसहित काम अघि बढाइने बताएका छन्।
यसका साथै उनले भूमिको प्रभावकारी व्यवस्थापनका लागि ‘भूमि बैंक’ स्थापना गर्ने योजना पनि अघि सारेका छन्। बाँझो जमिनको सदुपयोग सुनिश्चित गर्दै जग्गा चक्लाबन्दी र एकीकरणलाई प्रोत्साहन गर्न ल्याण्ड बैंकको व्यवस्था गरिने उनको प्रतिबद्धता छ। ऐलानी जग्गाको उचित व्यवस्थापन, नक्सांकन अभिलेख नभएका जमिनको नापी तथा अभिलेखीकरण कार्य पनि सम्पन्न गरिने उनले जनाएका छन्।
यस्तै, लामो समयदेखि सञ्चालनमा आउन नसकेको दमक भ्यू टावर लाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्।
प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया