एजेन्सी । पाकिस्तानले अफगानिस्तानका नङ्गरहार, पक्तिका र खोस्त प्रान्तका सात स्थानमा हवाई आक्रमण गरेको जनाएको छ। जियो न्यूजले इस्लामाबादस्थित सुरक्षा स्रोतलाई उद्धृत गर्दै उक्त आक्रमणमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ।
पछिल्ला आत्मघाती हमलाको प्रतिक्रियास्वरूप सीमापार कारबाही गरिएको पाकिस्तानको दाबी छ। लक्षित क्षेत्रहरूमा नङ्गरहार र खोस्तका कथित ‘ख्वारीजी’ समूहसँग सम्बन्धित केन्द्रहरू तथा पक्तिकाका केही ठेगानाहरू समावेश रहेको बताइएको छ।
यसअघि पाकिस्तानका आन्तरिक राज्यमन्त्री तलाल चौधरीले सीमापार कारबाहीका क्रममा करिब ७० जना आतङ्ककारीलाई निष्क्रिय बनाइएको बताएका थिए। उनका अनुसार प्रतिबन्धित तहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी), यसका सम्बद्ध समूह तथा इस्लामिक स्टेट–खोरासन प्रान्तसँग जोडिएका शिविरहरूलाई लक्षित गरी आक्रमण गरिएको हो। पाकिस्तानी अधिकारीहरूले यस्ता समूहलाई ‘फितना अल–खवारीज’ नामले उल्लेख गर्ने गरेका छन्।
‘जियो पाकिस्तान’ कार्यक्रममा बोल्दै मन्त्री चौधरीले अफगानिस्तान सीमापार आतङ्कवादको स्रोत बनेको आरोप लगाए। उनले पाकिस्तानले आफ्ना नागरिकको सुरक्षाका लागि आवश्यक सबै उपाय अवलम्बन गरिरहेको र देशभित्र करिब ७० हजार गुप्तचर–आधारित अपरेसन सञ्चालन गरिएको जानकारी दिए।
पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयले उक्त हवाई कारबाहीलाई ‘सटीक र लक्षित’ भन्दै इस्लामाबाद, बाजौर र बन्नुमा भएका हालिया आत्मघाती विस्फोटको प्रतिशोधात्मक प्रतिक्रिया भएको जनाएको छ। इस्लामाबादले ती आक्रमणहरू अफगान भूमिबाट टिटिपी र दाइश तत्वसँगको मिलेमत्तोमा आयोजना गरिएको दाबी गरेको छ।
रिपोर्टअनुसार पक्तिकाको बरमल क्षेत्र, नङ्गरहारको खोग्यानी जिल्ला तथा घानी खेल, बेहसुद र अर्गुन आसपासका लुकेका स्थानहरूमा कारबाही गरिएको थियो। चौधरीले सन् २०२० को दोहा सम्झौता स्मरण गर्दै अफगान तालिबानले आफ्नो भूमि आतङ्कवादका लागि प्रयोग हुन नदिने प्रतिबद्धता जनाएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको आरोप लगाए।
पाकिस्तानले आफ्नो सुरक्षा चासोलाई सम्बोधन गर्न कूटनीतिक र सैन्य दुवै माध्यमबाट पहल गरिरहेको र सबै राजनीतिक दललाई आतङ्कवादविरुद्ध एकताबद्ध हुन आह्वान गरेको जनाएको छ।
पछिल्लो समय खैबर पख्तुनख्वा र बलुचिस्तानमा हिंसात्मक घटनामा वृद्धि भएको छ। विशेषगरी २०२१ मा अफगानिस्तानमा तालिबान सत्तामा फर्किएपछि इस्लामाबाद र काबुलबीच तनाव बढ्दै गएको विश्लेषण गरिएको छ। सन् २०२५ अक्टोबरमा पाकिस्तानी सेना र अफगान तालिबान लडाकुबीच सीमा क्षेत्रमा झडप हुँदा दुवै पक्षमा ठूलो क्षति भएको थियो। चरणबद्ध वार्ताका प्रयास भए पनि दुवै देशबीच स्थायी शान्ति स्थापना हुन सकेको छैन।
यता काबुलले भने अफगान भूमिबाट आतङ्कवादी गतिविधि सञ्चालन भएको इस्लामाबादको आरोप अस्वीकार गर्दै पाकिस्तानका सुरक्षा चुनौतीहरू आन्तरिक विषय भएको प्रतिक्रिया दिँदै आएको छ।
प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया