धरान । जनता समाजवादी पार्टी (नेपाल)का केन्द्रीय अध्यक्ष तथा पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले देशमा राजनीतिक स्थायित्व, सुशासन र आर्थिक सुधार सुनिश्चित गर्न साझा राष्ट्रिय कार्यदिशा आवश्यक रहेको बताएका छन्।
सुनसरी क्षेत्र नम्बर १ को निर्वाचन परिचालन समितिले धरानमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष राईले आगामी २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचन स्थगित हुन सक्ने भन्ने हल्ला चलिरहेको उल्लेख गर्दै त्यस्तो निर्णय देश र जनताको हितमा नहुने स्पष्ट पारे।
निर्वाचनपछि गठन हुने नयाँ संसद्ले जनताको ताजा जनादेश बोकेर मुलुकको नेतृत्व गर्ने विश्वास व्यक्त गर्दै उनले संसद्भित्र र बाहिर रहेका सबै राजनीतिक शक्तिबीच निरन्तर संवाद, सहकार्य र सहमतिमूलक राजनीति अपरिहार्य रहेको बताए।
लोकतान्त्रिक प्रक्रियामा कुनै अवरोध आउन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै अध्यक्ष राईले दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राखेर सहकार्यको संस्कार विकास गर्न आवश्यक रहेको धारणा राखे।
प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया