झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई वर्तमान संकटबाट बाहिर ल्याउन र अस्थिर अवस्थामा रहेका परिस्थिति सम्हाल्न सक्ने एक मात्र शक्ति एमाले भएको दाबी गरेका छन्।

सोमबार आफ्नै गृह जिल्ला झापाको दमकमा आयोजित ‘नेशनल युथ भोलेन्टियर्स’ को कोशी प्रदेश कमिटी घोषणा कार्यक्रममा बोल्दै उनले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनपछि मात्र एमालेले देशको नेतृत्व सम्हाल्ने उद्घोष गरे।

advertisement

देशभर बढ्दो अराजकता, तोडफोड र सामाजिक सहिष्णुतामाथि आक्रमण भइरहेको भन्दै अध्यक्ष ओलीले जनताले निर्वाचनमार्फत यी असामाजिक तत्त्वलाई परास्त गर्ने विश्वास व्यक्त गरे। झापा–५ बाट उम्मेदवार रहेका उनले एमालेको प्राथमिकता सत्ता नभई देश रहेको स्पष्ट पारे।

‘एमाले भन्छ, अरू कुरा पछि, देश पहिले,’ भन्दै उनले शान्तिपूर्ण राजनीति र स्थायित्व कायम राख्न एमालेको जित अनिवार्य रहेको बताए। उनले जनतालाई चेतावनी दिँदै भने, शिक्षा, स्वास्थ्य र रोजगारीमा ठोस काम गर्ने पार्टी पहिचान भइसकेको छ, त्यसैले भ्रम र विध्वंसको माध्यमबाट निर्वाचन जित्ने सपना नदेख्न आग्रह गरे।

कार्यक्रममा उनले ‘नेसनल भोलेन्टियर फोर्स’ को गठन र यसको औचित्यमाथि विशेष चर्चा गरे। यो फोर्स केवल चुनावकालका लागि नभई दीर्घकालीन रूपमा राष्ट्र सुरक्षा र प्रहरी प्रशासनलाई सहयोग गर्ने उद्देश्यले निर्माण गरिएको उनले स्पष्ट पारे। विगतमा आन्दोलनको नाममा भएका अराजकता र प्रहरीमाथि भएका आक्रमण स्मरण गर्दै अध्यक्ष ओलीले अब यस फोर्सको उपस्थितिमा कसैले देश जलाउने वा प्रहरीको हतियार खोस्ने आँट गर्न नसक्ने दाबी गरे। उनले यस फोर्सले अनुशासित रूपमा जनताको शक्तिको प्रतिनिधित्व गर्दै शान्ति सुरक्षा कायम राख्ने बताए।

अध्यक्ष ओलीले आगामी निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन एमाले प्रतिबद्ध रहेको उल्लेख गर्दै, बुथ कब्जा गर्ने जस्ता गैरलोकतान्त्रिक गतिविधि गर्न खोज्नेहरूलाई कडा चेतावनी दिए। ‘कसैले बुथ कब्जा गर्ने कल्पना नगरे हुन्छ, यहाँ नेसनल भोलेन्टियर फोर्स छ,’ उनले भने।

मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन र जनताको आधारभूत आवश्यकता पूरा गर्न एमालेको विकल्प नरहेको भन्दै उनले झापा र देशभरका मतदातालाई पार्टीको पक्षमा उभिन अपिल गरे।

प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com