काठमाडौं । नेपाली कांग्रेस (विपी) ले नेपाली कांग्रेससँग एकता प्रक्रिया अघि बढाउन तयार रहेको जनाएको छ।
कांग्रेस (विपी) डडेल्धुराका सभापति भरत नेपालीले प्रेस विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेससँग एकता गर्न आफूहरू सकारात्मक रहेको बताएका छन्। विज्ञप्तिमा भ्रष्टाचार, संगठनगत अन्योल तथा जिल्लामा लोकतान्त्रिक व्यवस्थामा पार्टीको भूमिकालाई मध्यनजर गर्दै कांग्रेस (विपी) ले विगतका निर्वाचनमा समेत जनमत प्राप्त गरेको उल्लेख गरिएको छ।
‘पार्टी एकताको लागि आवश्यक छलफल र प्रक्रिया अघि बढाउन नेपाली कांग्रेस डडेल्धुरा र केन्द्रीय समितिलाई हार्दिक अनुरोध गर्दछौँ,’ जारी विज्ञप्तिमा भनिएको छ।
यसअघि आइतबार नेपाली कांग्रेस डडेल्धुराले पार्टी एकताको आह्वान गर्दै सातौँ जिल्ला अधिवेशनमा सहभागी हुन नपाएका तत्कालीन सभापति कर्णबहादुर मल्ल, उपसभापति करुणाकर भट्ट, नेता हरिप्रसाद भट्ट र भरत नेपालीलगायतलाई सक्रिय योगदान दिन आग्रह गरेको थियो।
डडेल्धुरा जिल्ला सभापति भीमबहादुर साउदद्वारा जारी विज्ञप्तिमा सबै नेता, कार्यकर्ता र सदस्यलाई साझा रणनीतिमा गोलबद्ध भई प्रतिनिधि सभा सदस्यका उम्मेदवार नैनसिंह महर तथा नेपाली कांग्रेसलाई विजयी गराउन आह्वान गरिएको थियो।
हाल उल्लेखित सबै नेता नेपाली कांग्रेस (विपी) मा सक्रिय रहेका छन्।
प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया