एजेन्सी । थाइल्यान्डको उत्तरी शहर चियाङ माइस्थित लोकप्रिय पर्यटकीय आकर्षण टाइगर किङ्डम चियाङ माइमा ७२ वटा बाघ मरेपछि अधिकारीहरूले औपचारिक छानबिन थालेका छन् ।
दुईवटा परिसरमा फैलिएको रोगका कारण दुई हप्ताभित्रै यति धेरै बाघ मरेको जनाइएको छ । स्थानीय पशुधन विभागका अनुसार मृत बाघहरूबाट लिइएको नमुनामा ‘क्यानाइन डिस्टेम्पर भाइरस’ (सीडीभी) पुष्टि भएको छ । संक्रमण कसरी फैलियो भन्ने विषय भने अझै स्पष्ट हुन सकेको छैन ।
पार्कका निर्देशक सोमचुआन रतनामुङ्क्लानोनले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै बाघमा रोग पहिचान गर्न ढिलाइ हुँदा नियन्त्रण गर्न कठिन भएको बताएका छन् । “हामीले तिनीहरू बिरामी भएको थाहा पाउँदासम्म धेरै ढिलो भइसकेको थियो,” उनले भने ।
प्रान्तीय पशुधन कार्यालयले यसअघि केही नमुनामा फेलाइन पार्भोभाइरस र श्वासप्रश्वाससम्बन्धी ब्याक्टेरियासमेत देखिएको जनाएको थियो । प्रारम्भिक अनुमानअनुसार बाघलाई खुवाइएको कुखुराको काँचो मासुबाट संक्रमण फैलिएको हुन सक्ने आशंका गरिएको छ ।
सन् २००४ मा चोनबुरी प्रान्तस्थित एक चिडियाखानामा पनि कुखुराको काँचो मासुबाट बर्ड फ्लु फैलिँदा करिब १५० बाघ मरेका वा मारिएका थिए ।
हाल मृत बाघहरूको अवशेष दाहसंस्कार तथा जमिनमा गाड्ने काम सम्पन्न भइसकेको छ । पार्कका दुई परिसरमा यसअघि २४० भन्दा बढी बाघ रहेको जनाइएको छ ।
रोग अत्यन्त संक्रामक भएकाले पार्कका पशुचिकित्सक र कर्मचारीलाई २१ दिन निगरानीमा राखिएको छ । अहिलेसम्म मानवमा संक्रमण देखिएको छैन ।
यस घटनापछि पशु अधिकारकर्मीहरूले मनोरञ्जनका लागि कैदमा राखिएका बाघहरूको जीवनस्तरबारे गम्भीर प्रश्न उठाएका छन् । अधिकारीहरूले संक्रमणको स्रोत पहिचान र थप क्षति रोक्ने काम जारी राखेको बताएका छन् ।
प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया