काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले पूर्वसभामुख देवराज घिमिरे को कार्यकाललाई लिएर कडा टिप्पणी गरेका छन् ।
झापा क्षेत्र नम्बर २ मा आयोजित चुनावी कार्यक्रममा बोल्दै लामिछानेले सभामुख हुँदा घिमिरेले ‘बा’ को आदेश मानेर जनताको आवाज उठाउँदा आफूहरूको माइक काटेको आरोप लगाए ।
उनले जनताको पक्षमा बोल्दा र भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दा आफूहरूलाई अवरोध गरिएको दाबी गरे । “हामीले नेपाली जनताको आवाज उठाएका थियौँ । नेपाली जनता प्रत्येक दिन एयरपोर्टमा बेचिँदै थिए । तर त्यो आवाज दबाइयो, उनले भने ।
लामिछानेले भिजिट भिसा प्रकरणको छानबिन माग गर्दै रास्वपाका २१ सांसदलाई सदनबाट निकालेको जिकिर गरे । संसद् नियमावलीअनुसार थुनामा नरहेको र मुद्दाको अन्तिम किनारा नलागेसम्म सांसद पद निलम्बन नहुने व्यवस्था रहेको उल्लेख गर्दै उनले आफूलाई सूचना टाँसेर हटाइएको आरोप लगाए ।
उनले सदनमा आफूहरूमाथि भएको व्यवहारको जवाफ जनताले निर्वाचनमार्फत दिने विश्वास व्यक्त गर्दै पूर्वउपसभामुख इन्दिरा राना मगर लाई विजयी गराउन आग्रह गरे ।
लामिछानेले व्यक्तिगत कटाक्ष नगरेको स्पष्ट पार्दै पूर्वसभामुखलाई निर्वाचित गराउँदा आफ्नो हस्ताक्षर र समर्थन रहेको स्वीकार गरे । म यहाँ बसेर आलोचित हुन चाहन्छु, उनले भने ।
प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया