काठमाडाैं । नेपाली कांग्रेसले सुर्खेतमा प्रदेशस्तरीय आमसभा आयोजना गर्ने भएको छ। प्रतिज्ञा पत्र सार्वजनिक गरेपछि कांग्रेसको यो दोस्रो प्रदेशस्तरीय आमसभा हो।
बिहीबार सुर्खेतको घण्टाघर डबलीमा हुने आमसभालाई पार्टी सभापति गगनकुमार थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसालले सम्बोधन गर्ने कर्णाली प्रदेशका महामन्त्री निरन्जन केसीले जानकारी दिए।
आमसभाका लागि कर्णालीका सल्यान, रुकुमपश्चिम, जाजरकोट, दैलेख र कालिकोट जिल्लाबाट समर्थकहरूलाई सुर्खेत आउन कांग्रेसले आह्वान गरेको छ। कांग्रेसका अनुसार यस आमसभाले कर्णाली प्रदेशमा पार्टीको पक्षमा माहोल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रचार–प्रसार व्यापक गरिएको र ठूलो संख्यामा सहभागी हुने विश्वास महामन्त्री केसीले व्यक्त गरे।
आमसभाका लागि उपसभापतिद्वय शर्मा र भुसाल काठमाडौंबाट तथा सभापति थापा सर्लाहीबाट सुर्खेत आउने कार्यक्रम रहेको छ।
सुर्खेत पूर्णबहादुर खड्काको गृह जिल्ला हो। उनले चुनाव लड्दै आएको सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा यसपटक विष्णुबहादुर खड्का उम्मेदवार बनेका छन्। आफ्नै भाइ उम्मेदवार भए पनि पूर्णबहादुर खड्का चुनाव प्रचारमा सुर्खेत नआएको बताइएको छ। विशेष महाधिवेशनबाट थापा सभापति बनेपछि त्यसविरुद्ध निर्वाचन आयोग र अदालत पुगेका खड्का प्रचारमा सक्रिय हुन नसकेको जनाइएको छ।
प्रकाशित मिति: १३ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया