काठमाडौं । विमला घिमिरेले राष्ट्रिय सभा उपाध्यक्षका रूपमा आफ्नो दुई वर्षे कार्यकाल सकिन लाग्दा कानुन निर्माण र संसद सञ्चालन व्यवस्थापनबारे महत्वपूर्ण अनुभव हासिल गरेको बताएकी छन्।
फागुन २० गतेबाट राष्ट्रिय सभामा आफ्नो कार्यकाल सकिन लागेकै सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ६ वर्षे राजनीतिक कार्यअनुभवका क्रममा प्राप्त अनुभव साझा गरिन्।
उनले गरिमामय सदनमा प्रवेश गरेपछि राष्ट्रिय सभालाई अनुभवी र विज्ञहरूको सभा भनिने भएकाले आफूले जिम्मेवार र संयमित ढंगले अभिव्यक्ति दिने प्रयास गरेको उल्लेख गरिन्। “कानुन निर्माणको प्रक्रिया र संसद सञ्चालनको व्यवस्थापनको सन्दर्भमा अनुभव लिएको छु। मैले व्यक्तिगत र सामूहिक हिसाबले दुई प्रकारका कामहरू गरेको छु,” उनले भनिन्।
उपाध्यक्ष घिमिरेले राष्ट्र, राष्ट्रियता र संघीयताप्रति बढी उत्तरदायी भएर काम गर्ने संस्थामा रहेकाले बोल्दा विशेष जिम्मेवारी महसुस गरेको बताइन्।
उनले आफ्नो कार्यकालमा व्यक्तिगत तथा सामूहिक रूपमा काम गरेको उल्लेख गर्दै कानुन निर्माण प्रक्रियालाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याइन्। उनका अनुसार राष्ट्रिय सभामा हाल ३८ भन्दा बढी विधेयक दर्ता भएका छन्।
बाँकी रहेका कानुनहरूको निर्माण प्रक्रियालाई तीव्रता दिनुपर्नेमा जोड दिँदै उनले जनतासँग प्रत्यक्ष सरोकार राख्ने सेवा प्रवाह तथा मौलिक अधिकारसम्बन्धी कानुनहरूलाई सरकारले यथाशीघ्र सदनमा प्रस्तुत गरी छलफलमार्फत छिटोछरितो रूपमा पारित गर्नुपर्ने धारणा राखिन्।
प्रकाशित मिति: १३ फाल्गुन २०८२, बुधबार












प्रतिक्रिया