काठमाडौं । निर्वाचन आयोगले निर्वाचन अवधिमा निषेध गरिएका गतिविधि हुन नदिन र उल्लङ्घन भएमा प्रचलित कानुनअनुसार तत्काल कारबाही गरी आयोगलाई जानकारी गराउन गृह मन्त्रालयलाई अनुरोध गरेको छ।

आयोगले विज्ञप्ति जारी गर्दै फागुन १८ गते राति १२ बजेदेखि लागू हुने प्रचारप्रसार निषेध अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना सुनिश्चित गर्न सबै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिन मन्त्रालयलाई आग्रह गरेको छ। साथै, जिल्ला आचारसंहिता अनुगमन समितिलाई परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ अनुसार उल्लङ्घन गर्नेलाई कारबाही गर्न पनि भनिएको छ।

advertisement

आयोगले मतदानको मितिभन्दा ७ दिनअघिदेखि अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्री, वितरण र सेवनमा प्रतिबन्ध लगाउन पनि आग्रह गरेको छ।

त्यस्तै, मतदानको दिन एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षा निकायका सवारीसाधन, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतमा प्रयोग हुने सवारी, कूटनीतिक नियोगका सवारी र सवारी पास प्राप्त गरेका सवारीबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने जनाएको छ। उक्त प्रतिबन्ध फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म लागू हुनेछ।

यद्यपि, अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान भने नियमित रूपमा सञ्चालन हुनेछन्। हवाई यात्रुहरूले एयरलाइन्स वा निजी सवारी प्रयोग गरी विमानस्थलदेखि होटल वा घरसम्म आवतजावत गर्न पाउने व्यवस्था गरिएको छ।

निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०८२ अनुसार मतदाताले मतदान केन्द्रमा जाँदा मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमति पत्रमध्ये कुनै एक कागजात अनिवार्य रूपमा साथमा लिनुपर्नेछ। मतदाता नामावलीमा नाम भएका मतदाताले यीमध्ये कुनै एक कागजातका आधारमा मतदान गर्न पाउने व्यवस्था गरिएको छ।

यसैबीच, मतदानको दिन प्रयोग हुने सवारीसाधनका लागि पास वितरण गर्न निर्वाचन आयोगको सचिवालय परिसरमा विशेष पास वितरण इकाइ स्थापना गरिनेछ। उक्त इकाइमा निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंका कर्मचारी खटाइने आयोगले जनाएको छ।

प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com