काठमाडौं। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा तथा सुव्यवस्था कायम राख्न निर्वाचन आयोगले फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते मतदान सम्पन्न नहुँदासम्म (साँझ करिब ५ बजेसम्म) अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ ।

आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिअनुसार यो अवधिमा एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका सवारी, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतसम्बन्धी सवारी साधनहरू निर्बाध सञ्चालन गर्न पाइनेछ । यसबाहेक कूटनीतिक नियोगका सवारी तथा निर्वाचन प्रयोजनका लागि आयोगबाट जारी पास प्राप्त सवारी साधनहरू मात्र सञ्चालन गर्न अनुमति दिइएको छ ।

advertisement

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले यो निर्णय गरेको हो । मतदानको दिन शान्ति, सुरक्षा तथा निर्वाचन प्रक्रियालाई प्रभावकारी बनाउन यस्तो व्यवस्था गरिएको आयोगले जनाएको छ ।

यस अवधिमा अन्य सवारी साधन सञ्चालन गरेमा सुरक्षा निकायले नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही गर्ने आयोगले चेतावनी दिएको छ । निर्वाचनपछि मात्र यस्ता सवारी फिर्ता गरिने व्यवस्था छ ।

यो निर्णयसँगै निर्वाचनको मौन अवधि (फागुन १८ राति १२ बजेदेखि) तथा मादक पदार्थ बिक्री-वितरण र सेवनमा प्रतिबन्ध जस्ता अन्य व्यवस्थाहरू पनि लागू भइसकेका छन् ।

प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com