बुटवल। बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणका पीडितहरू यतिबेला आर्थिक क्षति मात्र होइन, सामाजिक दबाब र बहिस्कारको त्रासबाट पनि पीडित छन् । जीवनभरको कमाइ गुमाएपछि रकम फिर्ता माग्न खुलेर बोल्नसमेत डराइरहेका छन् उनीहरू ।

बुटवलका एक व्यवसायीले सहकारीमा जम्मा गरेको ३५ लाखभन्दा बढी रकम गुमाएका छन् । तर उनी अहिले यो विषयमा बोल्न तयार छैनन् । नाम उल्लेख नगर्ने सर्तमा उनले भने, “नेता, सरकार सबैलाई गुहारियो, बोलेर थाकियो । अब चुप लागेर बस्नु नै राम्रो लाग्छ । रकम माग्दा समाजले खेद्ने डर छ ।”

advertisement

सहकारीका अध्यक्ष ओम गुरुङ हाल भैरहवास्थित कारागारमा छन् । ठगी प्रकरणमा नाम जोडिएका रवि लामिछाने भने राजनीतिक गतिविधिमा सक्रिय छन् । उनको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू निर्वाचन प्रचारमा व्यस्त छन् ।

पीडित सङ्घर्ष समितिका संयोजक विजय नेपालका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका विभिन्न उम्मेदवारहरूलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । विष्णु पौडेल, चुन्न प्रसाद पौडेल, बासुदेव घिमिरे, गौरव बोहोरा, विश्वदीप पाण्डेय, रास्वपाका सुलभ खरेल र लेखजंग थापालगायतलाई पत्र दिइएको छ । अधिकांश उम्मेदवारले सहानुभूति व्यक्त गरे पनि रकम फिर्ता गराउने विषयमा ठोस प्रतिबद्धता भने आएको छैन । रास्वपा उम्मेदवार खरेलले निर्वाचनपछि पहल गर्ने आश्वासन मात्र दिएका छन् ।

तिलोत्तमा–५ का ५५ वर्षीय भेषराज पौडेलले भारतमा रोजगारी गरेर कमाएको करिब ३३ लाख रुपैयाँ (परिवारसहित) सहकारीमा जम्मा गरेका थिए । “सुरक्षित रहन्छ भन्ने विश्वास थियो,” उनले भने, “अब फर्किने आशा लगभग सकियो । भोट माग्न आउने नेताहरूलाई भनियो, तर कुनै ठोस जवाफ आएन ।”

त्यसैगरी तिलोत्तमाकै ड्राइभर टोलकी डेरी व्यवसायी विमला शर्माले ४२ लाखभन्दा बढी रकम गुमाएकी छन् । आन्दोलनमा सहभागी भए पनि न्यायको कुनै संकेत नदेखिएको उनको गुनासो छ । “अब न्याय पाउने आशा मरेको छ,” उनले निराशा व्यक्त गरिन् ।

सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा विभिन्न जिल्ला अदालतमा विचाराधीन छन् । रवि लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो दाखिल गरेपछि पुर्पक्षका लागि थुनामा नबसी बाहिरैबाट मुद्दा लडिरहेका छन् । मुद्दाको अन्तिम फैसला भने बाँकी छ ।

पीडितहरूका अनुसार राजनीतिक प्रभाव र सामाजिक दबाबका कारण आवाज उठाउन डर लागिरहेको छ । सामाजिक सञ्जालमा हुने अभद्र टिप्पणी र गालीगलौजले झन् त्रसित बनाएको उनीहरू बताउँछन् ।

निर्वाचनको माहोल तातिरहेको बेला राजनीतिक दलहरू चुनावी प्रतिबद्धतामा केन्द्रित छन् । तर सुप्रिम सहकारीका पीडितहरू भने अझै पनि आफ्नो जीवनभरको बचत फिर्ता हुने आशामा प्रतीक्षारत छन् ।

प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com