काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्ना समर्थक तथा सम्पूर्ण नागरिकहरूलाई तारा चुनाव चिन्हमा मतदान गर्न अपिल गरेको छ ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले संयुक्त रूपमा जारी गरेको अपिल पत्रमा मुलुकको लोकतान्त्रिक प्रणाली, संविधान, राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताको रक्षा गर्ने दृढ प्रतिबद्धता व्यक्त गरिएको छ । अपिलमा भ्रष्टाचारविरुद्धको सङ्घर्ष, आर्थिक–सामाजिक रूपान्तरण तथा समाजवादी समाज निर्माणको पक्षमा पार्टीको अटल अडान रहेको उल्लेख छ ।
शहीद, घाइते, अपाङ्ग तथा बेपत्ता क्रान्तिकारी संघर्षकर्ताहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पार्टीले जनतासँग आफ्नो दृष्टिकोण र योजना प्रस्तुत गरेको छ । अपिलमा भनिएको छ, “अहिले मुलुकमा बाह्य हस्तक्षेप र अस्थिरता फैलाउने प्रयासहरू भइरहेका छन् । राष्ट्रिय स्वाभिमान र अखण्डतामा चुनौती आउन सक्ने खतरा छ । यसलाई रोक्न नेकपा दृढतापूर्वक उभिनेछ ।”
पार्टीले लोकतान्त्रिक प्रणाली, संघीयता, समानुपातिक तथा समावेशी सहभागितालाई मजबुत बनाउँदै समाजवादी लोकतन्त्रको विकास गर्ने तयारी रहेको जनाएको छ । लोकतन्त्रको सुदृढीकरण विकास र स्थिरताको आधार भएको अपिलमा उल्लेख छ । वर्तमान प्रणालीविरुद्धका षड्यन्त्रहरूलाई परास्त गर्दै स्थिरता कायम राखेर विकासको यात्रा अघि बढाउने अठोट पार्टीले गरेको छ ।
जननिर्वाचित संविधानसभाबाट निर्माण भएको संविधानलाई संसारकै उत्कृष्टमध्ये एक ठानेको नेकपाले यसमा नेपाली जनताले प्राप्त गरेका अधिकारहरूको संरक्षण गर्ने प्रतिज्ञा गरेको छ । संविधानमा आवश्यक परिमार्जन संविधानले निर्देशन गरेको प्रक्रियाबाट मात्र गर्नुपर्ने पनि अपिलमा स्पष्ट पारिएको छ ।
निर्वाचन प्रणालीको सुधारमा पार्टीले वर्तमान प्रणालीलाई खर्चिलो, जटिल र गठबन्धनको अस्थिरतासँग जोडिएको भन्दै यसलाई सरल, कम खर्चिलो र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
सुशासन र पारदर्शितामा सुधार, भ्रष्टाचारमाथि कडा कारबाही, सम्पत्ति छानबिन आयोग गठन, शक्ति पृथकीकरणको सिद्धान्तअनुसार राज्य सञ्चालन, जातीय–लैङ्गिक–सांस्कृतिक–धार्मिक–सामाजिक–भौगोलिक असमानता तथा उत्पीडन अन्त्य, छाउपडी, डाइनी–बोक्सी जस्ता कुरीतिहरू उन्मूलन गर्ने सक्रिय कदम चाल्ने पनि अपिलमा उल्लेख छ ।
आर्थिक क्षेत्रमा उत्पादन, कृषि, उद्योग, ऊर्जा, व्यापार, पर्यटन र रोजगारी वृद्धि गर्ने, आयातआधारित अर्थतन्त्रमा निर्भरता घटाएर स्वाधीन अर्थतन्त्र निर्माण गर्ने, वित्तीय सुधार, प्रगतिशील कर प्रणाली लागू गर्ने तथा लक्षित वर्ग–समुदाय केन्द्रित कार्यक्रममार्फत गरिबी अन्त्य गर्ने योजना पार्टीले प्रस्तुत गरेको छ ।
प्राकृतिक स्रोत तथा वातावरण संरक्षण, विपद् व्यवस्थापन, दिगो विकास नीति निर्माण, राष्ट्रिय हित सर्वोपरि राखेर परराष्ट्र सम्बन्ध सञ्चालन, असमान सन्धि–सम्झौता खारेज तथा अतिक्रमित भूमि फिर्ता गर्ने नीतिसमेत अपिलमा समेटिएको छ ।
पार्टीले विगतका क्रान्तिकारी संघर्ष र राजनीतिक परिवर्तनको अनुभवका आधारमा अब मुलुकको अवस्था सुधार्ने दायित्व आफूमाथि रहेको बताउँदै भनेको छ, “अहिले व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्नेछौँ । अरूले गफ गर्ने हुन्, हामी काम गर्छौं । विगतमा हाम्रा केही कमी–कमजोरी भए, त्यसलाई सच्याएर अघि बढ्नेछौं ।”
नेकपाले फागुन २१ गते हुने निर्वाचनमा तारा चिन्हमा मतदान गरेर राष्ट्रिय स्वाभिमान, लोकतन्त्र र समाजवादी विकासको पक्षमा मतदान गर्न सम्पूर्ण नागरिकमा अपिल गरेको छ ।
प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया