काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बदली रहेको छ भने अन्य पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली देखिएको छ।
आज दिउँसो तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ।
साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थान तथा अन्य प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति तराईका केही स्थानमा तुवाँलो लाग्ने सम्भावना रहेको छ। देशका हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। यसैगरी, कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया