काठमाडौं । नेपाली कांग्रेस का सभापति गगनकुमार थापा ले पार्टीका सबै नेता–कार्यकर्तालाई आफूलाई नै उम्मेदवार ठानेर आमनागरिकसँग मत माग्न आग्रह गरेका छन् ।
रूपन्देहीको बुटवल मा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले उम्मेदवार एक्लैले मात्रै मेहनत गर्नु नहुने बताउँदै हरेक कार्यकर्ताले उम्मेदवारको भूमिकामा उत्रिनुपर्नेमा जोड दिए ।
‘यहाँको उम्मेदवारले यहीँ मेहनत गर्नुपर्छ, सबैले गरिराख्नुभएको छ । तर त्यो उम्मेदवार एक्लै मेहनत गर्नु हुँदैन,’ सभापति थापाले भने, ‘तपाईं प्रत्येक उम्मेदवार बनिदिनुपर्छ । तपाईंले प्रत्येक घरमा गएर भनिदिनुपर्छ– उम्मेदवार मै हुँ ।’
उनले घर–घरमा पुगेर ‘गगन थापा’ बनेर मत माग्नसमेत आग्रह गरे । ‘अझ तपाईंले भनिदिनुपर्छ– म गगन थापा भएर तपाईंको घरमा मत माग्न आएको छु । पाँच वर्ष मौका दिनुस्, देशलाई निराश बनाउँदैनौं भनेर तपाईंले भनिदिनुपर्छ,’ उनले भने ।
कांग्रेसले शुक्रबार रूपन्देहीका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको उपस्थितिमा बुटवलमा चुनावी सभा आयोजना गरेको हो ।
सभामा उपसभापति पुष्पा भुसाल र कांग्रेस नेता बालकृष्ण खाँण समेत उपस्थित छन् ।
प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार












प्रतिक्रिया