काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी फागुन २१ गते हुने निर्वाचनमा नेकपा पहिलो शक्ति बनेर देशको नेतृत्व सम्हाल्ने दाबी गरेका छन्।
नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टी पंक्तिलाई तीव्र रूपमा चुनावी अभियानमा परिचालित हुन निर्देशन दिए। देशका जटिल समस्या समाधानका लागि प्रारम्भदेखि नै निर्वाचनमार्फत निकास खोज्नुपर्ने अडान आफूहरूले लिएको उनले बताए।
उनले भने, ‘अहिले सबै राजनीतिक दल निर्वाचनमा केन्द्रित भएका छन्। सर्वदलीय सरकार वा संसद् पुनर्स्थापनाजस्ता एजेन्डा ओझेलमा परेका छन्। यस प्रक्रियामा नेकपाले नेतृत्वदायी भूमिका खेलेको छ र देश नै हाम्रो राजनीतिक धारमा आएको छ।’
एमालेसँग १० सिटमा चुनावी तालमेल हुन लागेको भन्ने प्रचार निराधार रहेको स्पष्ट पार्दै उनले पार्टी एक्लै जनताको अग्निपरीक्षामा उत्रिएको बताए। निर्वाचन निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न भए नेकपालाई पहिलो दल बन्न कसैले रोक्न नसक्ने उनको दाबी थियो।
प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार











प्रतिक्रिया