काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउनेहरूले नै देशलाई संकटमा पारेको आरोप लगाएका छन् ।
शुक्रबार चितवनमा आयोजित ‘हामी आयौं परिवर्तन उद्घोष सभा’लाई सम्बोधन गर्दै उनले आफूहरूलाई देश जलाउने आरोप लगाइने गरेको उल्लेख गरे । “देश जलाउने मान्छे भनेर हामीलाई आरोप लगाइन्छ । तर सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउने र निर्दोष नागरिकमाथि गोली चलाउनेहरूले नै देश जलाएका हुन्, उनले भने ।
लामिछानेले अघिल्ला घटनाक्रम स्मरण गर्दै संरचना जलाउनु गलत भए पनि नागरिकमाथि बल प्रयोग गर्नु झनै गम्भीर गल्ती भएको तर्क गरे । “संरचना जल्नु हुँदैनथ्यो, तर गोली चलाएर मान्छे मार्नु झन् हुँदैनथ्यो । त्यहीँबाट कुरा बिग्रियो, उनले भने ।
त्यस्तै उनले नेपाली कांग्रेस का सभापति गगनकुमार थापा तर्फ संकेत गर्दै आफूविरुद्ध प्रमाण भएको दाबी गरिएको लामो समय बितिसक्दा पनि प्रमाण सार्वजनिक हुन नसकेको टिप्पणी गरे । “ममाथि प्रमाण छ भनिएको आज ६५८ दिन भयो, उनले भने, “मेरो अन्तिम इच्छा के हो भने फागुन २१ मा मतपत्रमार्फत देखाइदिनुहोस् ।”
उनले रास्वपाले सुशासनको नयाँ रेकर्ड कायम गर्ने र अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने दाबी गरे । अन्तर्राष्ट्रिय सम्बन्धलाई मागीखाने भाँडो होइन, गरिखाने आधार बनाउँछौँ । हामी मागेर देश बनाउँदैनौँ,” उनले भने ।
राजनीतिक आस्था नत्यागे पनि यसपटक परिवर्तनका पक्षमा मतदान गर्न अपिल गर्दै उनले युवालाई अगाडि ल्याउने प्रतिबद्धता जनाए । ३० वर्षभन्दा मुनिका यति धेरै युवा उम्मेदवार इतिहासमै पहिलोपटक आएका छन्,” उनले भने, “युवा, महिला, जेन–जी, जनजाति, थारु, शहीद र घाइते पेसाकर्मीहरूको पार्टी रास्वपा हो ।
प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार












प्रतिक्रिया