काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले केही अतिवादी गतिविधिप्रति व्यङ्ग्य गर्दै त्यसको विपक्षमा कांग्रेस दृढ रहेको बताएका छन्।
शुक्रबार कास्कीको पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले भदौ २४ गते सरकारी सम्पत्ति जलाउने घटनालाई उदाहरण दिएका छन्। उनले भने, ‘एउटा पक्षले भदौ २४ गते सिंहदरबार लगायतका सरकारी सम्पत्ति जलाएर त्यसै मौका छोप्दै जेलबाट भाग्यो। यो अतिवाद हो र कांग्रेस त्यसको पक्षमा छैन।’ यद्यपि उनले प्रत्यक्ष रूपमा रवि लामिछानेको नाम भने उल्लेख गरेनन्।
थापाले व्याख्या गर्दै भने, ‘एक पक्ष भदौ २३ अघि केही पनि भएको छैन भन्छ, अर्को पक्ष भदौ २४ गते घटना भएपछि परिवर्तन हुन्छ भन्ने अतिवादी हो। कांग्रेस त्यस्तो अतिवादको भाग होइन।’
सभामा उनले मुलुक अब यस्ता अतिवादी प्रवृत्तिलाई सहन नसक्ने अवस्था आएको उल्लेख गर्दै, निर्वाचनमा अतिवादीलाई ठूलो शक्ति नदिन जनता सचेत रहन आग्रह गरे।
थापाले कांग्रेसले अनुभव, सङ्कल्प र प्रतिबद्धतासहित अघि बढेको भन्दै पार्टीले जे भन्छ, त्यसलाई कार्यान्वयन गर्ने दाबी पनि गरे। साथै, ०४६ सालपछि प्रधानमन्त्री भएका शेरबहादुर देउवा र मन्त्री भएका आफैंको पनि सम्पत्ति छानबिन हुने बताएका छन्। उनले गल्ती भए परिवारकै मान्छे भए पनि त्यसलाई छोड्ने छैनन् भनी स्पष्ट पारे।
प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार












प्रतिक्रिया