काठमाडौं । बोलिभिया, एल अल्टो । बोलिभियाको पश्चिमी सहर एल अल्टोमा एक सैन्य कार्गो विमान दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ। सान्ता क्रुजबाट नोट बोकेर एल अल्टो अन्तर्राष्ट्रिय विमानस्थलतर्फ उडेको बोलिभियन वायुसेनाको ‘सी-१३० हर्कुलस’ विमान अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर नजिकैको राजमार्गमा पुगेपछि ठूलो दुर्घटना भएको हो।

स्थानीय समयअनुसार शुक्रबार साँझ ६:२० बजे भएको यस घटनामा विमानले राजमार्गमा गुडिरहेका सवारीसाधनहरूलाई ठक्कर दिएको थियो। प्रत्यक्षदर्शीका अनुसार विमानको टायर उछिट्टिएर गुडिरहेको कारमा लाग्दा सर्वसाधारण घाइते भएका छन्। दुर्घटनापछि विमानस्थल अस्थायी रूपमा बन्द गरिएको थियो भने भग्नावशेष र क्षतिग्रस्त सवारीसाधनका कारण राजमार्गमा पनि यातायात अवरुद्ध भएको थियो।

advertisement

बोलिभियाको रक्षा मन्त्रालयले उक्त विमानले केन्द्रीय बैंकका लागि नोट ओसारपसार गरिरहेको पुष्टि गरेको छ। दुर्घटनापछि छरपस्ट भएका नोटहरू संकलन गर्न स्थानीयको भीड लागेको थियो। तर, मन्त्रालयले ती नोटहरूको हाल कुनै क्रयशक्ति नभएको र संकलन वा प्रयोग गर्नु कानुनी अपराध हुने चेतावनी दिएको छ।

अधिकारीहरूले दुर्घटनास्थलमा सर्वसाधारणलाई नजान र अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन्। उद्धार टोलीले भग्नावशेषबाट शव निकाल्ने र घाइतेलाई अस्पताल पुर्‍याउने काम जारी राखेको छ। विमानमा प्राविधिक समस्या थियो कि मौसमका कारण दुर्घटना भयो भन्नेबारे विस्तृत अनुसन्धान सुरु गरिएको छ।

प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com