धनुषा। धनुषाको औरही गाउँपालिका–६ चक्करस्थित खेतमा बिहीबार घाँटी रेटिएको अवस्थामा फेला परेका २० वर्षीय सुमित कुमार मण्डलको हत्या प्रेम सम्बन्धका कारण भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनामा संलग्न प्रेमिका, उनका काका र भाइ गरी तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरले आज पत्रकार सम्मेलन गरी घटनाको विवरण सार्वजनिक गर्दै भने, “प्रेमिका काजल मण्डलसँगको सम्बन्धलाई लिएर काजलका काका परमेश्वर मण्डल र भाइ दिपेश मण्डलले मिलेर सुमितको योजनाबद्ध हत्या गरेका हुन् ।”
प्रहरीका अनुसार बुधबार साँझ करिब ६ बजे सुमित हंसपुरबाट आफ्नी प्रेमिका काजल मण्डल (औरही गाउँपालिका–६ सोनिगामा बस्ने) लाई भेट्न गएका थिए । काजलको घरमा दुवै जना कोठामा बसेका बेला काजलका काका परमेश्वर मण्डल पसल बन्द गरेर घर फर्किएका थिए । उनले सुमितलाई कोठाबाट बाहिर निकालेपछि काजलका भाइ दिपेश मण्डललाई बोलाए । दुवै जनाले मिलेर सुमितलाई कुटपिट गरे, पछाडि हात बाँधे र खेतमा लगेर धारिलो हतियारले घाँटी रेटी हत्या गरेका थिए ।
घटना भएपछि प्रमाण लुकाउन दिपेशले सुमितले प्रयोग गरेको मोटरसाइकल छिमेकी गाउँमा आफ्ना एक जना साथीको घरमा लुकाएर राखेका थिए ।
प्रहरीले घटनाको २४ घण्टाभित्रै अनुसन्धानबाट मुख्य दोषीहरू पत्ता लगाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा प्रेमिका काजल मण्डल, उनका काका परमेश्वर मण्डल र भाइ दिपेश मण्डल रहेका छन् । घटनामा प्रयोग भएको धारिलो हतियारसमेत नियन्त्रणमा लिइएको छ ।
धनुषा प्रहरीका अनुसार सुमित र काजलबीच करिब एक वर्षदेखि चिनजान तथा कुराकानी हुँदै आएको थियो । परिवारले स्वीकार नगरेको वा प्रेम सम्बन्धलाई लिएर असन्तुष्टिका कारण यो हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
तीनै जनाविरुद्ध मुलुकी अपराध संहिताअन्तर्गत कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया