गुल्मी । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश निर्माणको नाममा प्राविधिक जनशक्ति, निर्माण व्यवसायी र श्रमिकलाई दोषारोपण गर्ने प्रवृत्तिले सकारात्मक परिणाम नदिने बताएका छन्। उनले कसैलाई दोषी ठहर गर्दै अपमानजनक शैलीमा प्रस्तुत भएर राष्ट्र निर्माण सम्भव नहुने स्पष्ट पारे।
गुल्मी क्षेत्र नम्बर १ मा भएको कार्यक्रममा उनले रास्वपाका नेता बालेन शाहप्रति लक्षित टिप्पणी गर्दै प्राविधिक र श्रमिक वर्गलाई होच्याउने भाषा प्रयोग गर्नु गलत भएको बताए। उनका अनुसार भावनात्मक र उत्तेजनापूर्ण भाषणले होइन, स्पष्ट दृष्टिकोण, ठोस योजना र निरन्तर परिश्रमले मात्र देश अघि बढ्छ।
‘देश बनाउन केवल पैसा पर्याप्त हुँदैन, त्यसका लागि दूरदृष्टि, संकल्प र इमानदार कार्यशैली आवश्यक हुन्छ,’ उनले भने। विकास निर्माणका कामलाई तीव्रता दिन नेपाली कांग्रेसले तीन सिफ्टमा काम गर्ने योजना अघि सारेको जानकारी दिँदै उनले विगतमा १० वर्षमै सम्पन्न हुनुपर्ने आयोजना ३० वर्षसम्म लम्बिएको उल्लेख गरे। अब भने दिन–रात खटिएर ३० वर्षको काम १० वर्षमै पूरा गर्ने समय आएको उनको भनाइ थियो।
शर्माले ‘सूर्य अस्त, नेपाल मस्त’ भन्ने सोच त्यागेर उत्पादनशील र परिणाममुखी कार्यसंस्कृति अपनाउनुपर्नेमा जोड दिए। देशलाई समुन्नत बनाउन सबै क्षेत्रबीच सहकार्य, सकारात्मक सोच र कडा मेहनत अपरिहार्य रहेको उनले बताए।
कांग्रेस परिवर्तित सोच र योजनासहित अघि बढिरहेको उल्लेख गर्दै उनले मतदातालाई पार्टीका उम्मेदवारहरूको पक्षमा उभिन आग्रह गरे।
कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा गुल्मी–१ का प्रतिनिधिसभा उम्मेदवार डा. चन्द्र भण्डारीसहित प्रदेश र जिल्लास्तरका नेताहरूले पनि सम्बोधन गरेका थिए।
प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया