कोलम्बो। सन् २०१९ को इस्टर बम विस्फोट प्रकरणमा महत्वपूर्ण मोड आएको छ । श्रीलङ्काका पूर्व गुप्तचर प्रमुख तथा सेवानिवृत्त मेजर जनरल सुरेश सल्लेलाई ९० दिनसम्म हिरासतमा राखेर सोधपुछ गर्न राष्ट्रपति अनुरा कुमार दिसानायकले अनुमति दिएका छन् ।
आतङ्कवाद रोकथाम ऐन (पिटिए) अन्तर्गत जारी गरिएको यो हिरासत आदेशमा राष्ट्रपतिले हिजो राति हस्ताक्षर गरेका थिए । प्रहरी प्रवक्ताका अनुसार प्रारम्भिक तीन दिनको हिरासतपछि थप ९० दिनसम्म उनी हिरासतमा रहनेछन् । पिटिएअनुसार प्रहरीले कुनै औपचारिक आरोप नलगाई तथा न्यायिक समीक्षा बिना नै संदिग्धलाई लामो समयसम्म हिरासतमा राख्न सक्छन् र यस्ता व्यक्तिलाई अदालतले जमानत दिन सक्दैन ।
आपराधिक अनुसन्धान विभाग (सीआईडी) का अधिकारीहरूले बुधबार सल्लेलाई पक्राउ गरेका थिए । अप्रिल २१, २०१९ मा भएका नौ आत्मघाती बम विस्फोटमा २७९ जनाको ज्यान गएको थियो भने करिब ५०० जना घाइते भएका थिए । मारिनेहरूमा ४५ जना विदेशी नागरिक पनि थिए । यो घटना श्रीलङ्काको इतिहासकै सबैभन्दा रक्तपातपूर्ण आतङ्ककारी आक्रमण मानिन्छ ।
सल्ले हालसम्म यस प्रकरणमा पक्राउ परेका सबैभन्दा उच्च पदस्थ अधिकारी हुन् । अनुसन्धान टोलीले घटनापूर्व खुफिया सूचना प्राप्त भए पनि किन कारबाही भएन, सुरक्षा संयन्त्रको भूमिका, सूचना आदान–प्रदानमा भएको सम्भावित लापरबाही तथा अन्य पक्षहरूमा विस्तृत सोधपुछ गर्ने तयारी गरेको छ ।
विपक्षी दलहरूले सल्लेको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधको कदम भन्दै आलोचना गरेका छन् । उनीहरूले यसलाई निष्पक्ष अनुसन्धान नभई राजनीतिक प्रतिशोधपूर्ण अभियानको संज्ञा दिएका छन् । तर पीडित परिवार तथा श्रीलङ्काको क्याथोलिक चर्चले भने यो कदमको स्वागत गरेका छन् । चर्चले राजनीतिक हस्तक्षेप बिना अनुसन्धान अघि बढाउनुपर्ने माग गर्दै आएको छ ।
चर्चले यसअघि पूर्वराष्ट्रपति गोटाबाया राजापाक्ष सत्तामा आएपछि अनुसन्धानलाई प्रभावित बनाइएको आरोप लगाएको थियो । आक्रमणको दुई दिनपछि नै राजापाक्षले राष्ट्रपतीय उम्मेदवारी घोषणा गरेका थिए र इस्लामवादी चरमपन्थ उन्मूलन गर्ने प्रतिबद्धतासहित चुनाव जितेका थिए ।
नयाँ गिरफ्तारीसँगै इस्टर बमकाण्डको सत्य उजागर हुने तथा दोषीहरूमाथि कारबाही हुने अपेक्षा फेरि बलियो बनेको छ । पीडित परिवार तथा सर्वसाधारणले लामो समयदेखि निष्पक्ष छानबिन, जवाफदेहिता र न्यायको माग गर्दै आएका छन् । यो कदमले त्यस दिशामा केही प्रगति हुने विश्वास गरिएको छ ।
प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया