झापा। रातोपाटीकर्मी पत्रकार अर्जुनकुमार आचार्यमाथि साङ्घातिक आक्रमण गर्ने नेकपा (एमाले) निकट ‘भोलेन्टियर्स फोर्स’ समूहका सदस्यहरूविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । घाइते पत्रकार आचार्यले शुक्रबार साँझ इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दर्ता गराएका हुन् ।
जाहेरीअनुसार बिहीबार साँझ ५ बजे कमल गाउँपालिका–६ स्थित जीवन चोकमा एमाले अध्यक्ष केपी शर्मा ओलीको घरदैलो अभियान चलिरहेको बेला केही महिलाले घण्टीमा भोट हाल्ने बताएपछि एमाले कार्यकर्ताहरूले उनीहरूमाथि अश्लील गालीगलौज गरेका थिए । सो घटनाको भिडियो खिचिरहेका आचार्यलाई एमाले निकट भोलेन्टियर्स फोर्सका सदस्यहरूले मुक्का र बुट प्रहार गर्दै निर्घात कुटपिट गरेका थिए ।
जाहेरीमा कमल गाउँपालिका–६ का युवराज पाठकसहित पाँच जनाको समूहलाई मुख्य अभियुक्तका रूपमा उल्लेख गर्दै पक्राउ गरी कारबाही गर्न माग गरिएको छ । अभद्र व्यवहार (मुलुकी अपराध संहिताबमोजिम) सम्बन्धी कसुरमा मुद्दा अघि बढाउनुपर्ने, लुटिएको मोबाइल फोन र चस्मा फिर्ता गर्नुपर्ने, शारीरिक तथा मानसिक क्षतिको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र उपचार खर्च भराउनुपर्ने माग पनि जाहेरीमा समावेश छ ।
घटनाका बेला एमाले अध्यक्ष ओली केही मिटरको दुरीमा रहे पनि आफ्नै कार्यकर्ताले पत्रकारमाथि आक्रमण गर्दा कुनै चासो नदेखाएको पीडित आचार्यको गुनासो छ । आक्रमणपछि बागमती अञ्चलमा दर्ता भएको २५६१ नम्बरको सेतो स्कर्पियोमा आचार्यलाई अपहरण गर्ने उद्देश्यले चढाउन खोजिएको र दमक पुगेर थप देखाइदिने धम्की दिइएको पनि जाहेरीमा उल्लेख छ ।
आचार्यको अनुहार, ढाड, कोखा र टाउकोमा चोट लागेको छ । उपचारपछि उनको अवस्था सामान्य रहेको छ ।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले किटानी गरिएका व्यक्तिहरूको पहिचान भइसकेको र खोजी कार्य जारी रहेको बताएका छन् ।
यस घटनाप्रति नेपाल पत्रकार महासङ्घ, फ्रिडम फोरम तथा विभिन्न सञ्चार सम्बद्ध संस्थाहरूले प्रेस स्वतन्त्रताको रक्षा गर्न र दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेका छन् । पत्रकारमाथिको आक्रमणले प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भएको उनीहरूको भनाइ छ ।
घटनाको छानबिन गरी दोषीहरूमाथि कडा कारबाही गर्न पीडित पक्ष र सञ्चार जगत्ले जोड दिएका छन् ।
प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार












प्रतिक्रिया