तेहरान। अमेरिका र इजरायलको संयुक्त सैन्य आक्रमणपछि इरानले कडा प्रतिक्रिया जनाउँदै इजरायलमाथि ‘ध्वंसात्मक’ स्तरको जवाफी हमला गर्ने चेतावनी दिएको छ । इरानी अधिकारीहरूले यो आक्रमणको बदला लिन ठूलो स्तरको रणनीतिक तयारी भइरहेको बताएका छन् ।

रोयटर्स समाचार एजेन्सीलाई दिएको जानकारीमा एक उच्च इरानी अधिकारीले भने, “तेहरानले अमेरिका र इजरायलको संयुक्त हमलाको प्रतिवाद गर्न ठूलो जवाफी रणनीति तयार पारिरहेको छ । यो प्रतिकार ध्वंसात्मक र निर्णायक हुनेछ ।”

advertisement

इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति आयोगका प्रमुख इब्राहिम अजिजीले सामाजिक सञ्जालमा लेख्दै कडा चेतावनी दिएका छन् । उनले लेखेका छन्, “हामीले तिमीहरूलाई पहिले नै चेतावनी दिएका थियौं ! अब तिमीहरू यस्तो बाटोमा अघि बढेका छौ, जसको अन्त्य अब तिम्रो नियन्त्रणमा रहने छैन । हाम्रो जवाफ समयमै र प्रभावकारी हुनेछ ।”

इजरायलले इरानका विभिन्न सैन्य तथा रणनीतिक स्थलहरूमा मिसाइल प्रहार गरेको पुष्टि गरेको छ भने अमेरिकी अधिकारीहरूले पनि यसमा संयुक्त राज्य अमेरिकाको प्रत्यक्ष सहभागिता रहेको बताएका छन् । इरानको राजधानी तेहरानका विभिन्न भागमा श्रृङ्खलाबद्ध ठूला विस्फोटका आवाजहरू सुनिएका छन् । स्थानीय सञ्चारमाध्यमहरूले तेहरानमा आगलागी तथा धुवाँको मुस्लो देखिएको रिपोर्ट गरेका छन् ।

यो घटनाले मध्यपूर्वमा तनाव चरममा पुगेको छ । इरानले यसलाई ‘युद्धको घोषणा’ का रूपमा लिएको छ भने इजरायलले आफ्नो देशभर संकटकाल घोषणा गरेको छ । अन्तर्राष्ट्रिय समुदायले तत्काल युद्धविराम तथा संयम अपनाउन अपिल गरेको छ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले आपत्कालीन बैठक बोलाउने तयारी गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणलाई ‘अमेरिकी नागरिकको रक्षाका लागि आवश्यक कदम’ बताउँदै इरानले आफ्नो आक्रामक नीति परिवर्तन नगरेसम्म थप कारबाही जारी रहने संकेत गरेका छन् ।

इरानको जवाफी हमलाको सम्भावनाले विश्वव्यापी बजार, तेल आपूर्ति तथा कूटनीतिक क्षेत्रमा ठूलो तरङ्ग ल्याएको छ । स्थिति अझै तनावपूर्ण रहेको छ र आगामी केही घण्टा निर्णायक हुन सक्ने विश्लेषकहरू बताउँछन् ।

प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com