काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले यसपालि देशव्यापी ठूला चुनावी सभा आयोजना नगरी संगठनात्मक परिचालन र घरदैलो अभियानमा जोड दिएको छ । पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअघिको अन्तिम सार्वजनिक सम्बोधन रोल्पाबाट गर्ने भएका छन् ।

शनिबार रोल्पाको सदरमुकाम लिबाङ टुँडिखेलमा हुने कार्यक्रममा प्रचण्डले चुनावका लागि सार्वजनिक अपिलसहित सम्बोधन गर्ने नेकपा रोल्पाका इन्चार्ज राजबहादुर बुढाले जानकारी दिएका छन् । पार्टीको प्रचण्डको सचिवालयले पनि यसपालि देशभर कुनै ठूला चुनावी सभा नराख्ने र रोल्पाबाटै अन्तिम सन्देश दिने निर्णय भएको जनाएको छ ।

advertisement

रोल्पा नेकपाको ऐतिहासिक गढ हो । जनयुद्धको अधिकांश समय प्रचण्डले रोल्पामै बिताएका थिए । ‘रोल्पाबाट निर्णायक अवस्थामा सम्बोधन गर्नु रोल्पालीप्रतिको सम्मान पनि हो,’ जिल्ला इन्चार्ज बुढाले भने । कार्यक्रमलाई भव्य बनाउन व्यापक तयारी भइरहेको छ । करिब १५ हजार मानिसले प्रत्यक्ष अवलोकन गर्ने अनुमान गरिएको छ ।

सभामा प्रचण्डसँगै रोल्पाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार वर्षमान पुनले पनि सम्बोधन गर्ने कार्यक्रम छ । पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वसभामुख ओनसरी घर्तीमगर लगायत पार्टीका केन्द्रीय तथा स्थानीय नेताहरूको बाक्लो उपस्थिति रहने आयोजकले जनाएका छन् ।

कात्तिक १९ गते ८ दलबीच एकता भई नेकपा घोषणा भएको थियो । त्यसयता २० भन्दा बढी दल तथा समूह नेकपामा समाहित भएका छन् । एकतापछि प्रचण्ड संयोजक र माधवकुमार नेपाल सहसंयोजक छन् । पार्टीले सातै प्रदेशमा एकता सन्देश सभा गरिसकेको छ ।

यसपालि नेकपाले शीर्ष नेताहरूको ठूला सभाभन्दा संगठन परिचालन गरी मतदाताको घर–घर पुग्ने रणनीति अपनाएको छ । प्रचण्डको रोल्पा सम्बोधनलाई पार्टीले चुनावी अभियानको अन्तिम तथा निर्णायक सन्देशका रूपमा लिएको छ ।

फागुन २१ गते हुने निर्वाचनमा नेकपाले तारा चिन्हमा मत माग्दै राष्ट्रिय स्वाभिमान, लोकतन्त्रको रक्षा तथा समाजवादी विकासको पक्षमा मतदान गर्न अपिल गरिसकेको छ ।

प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com