काडमाडाैं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले विदेशीलाई नागरिकता दिने विषयमा कडा आपत्ति जनाएको छ। शनिबार सिम्रौनगढमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष साहले २१ फागुनको निर्वाचनलाई लक्षित गरी सार्वजनिक केही दलका घोषणापत्रमा विदेशीलाई नागरिकता दिने प्रावधान राखिएको आरोप लगाए। यस्तो प्रावधान राष्ट्रघाती भएको दाबी गर्दै उनले सम्बन्धित दलहरूले तत्काल माफी माग्नुपर्ने बताएका छन्।

साहले विशेष रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेस का घोषणापत्रप्रति आपत्ति जनाए। रास्वपाले ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने भावनालाई कदर गर्दै सिद्धान्ततः दोहोरो नागरिकताको पक्षमा उभिने उल्लेख गरेको छ। त्यस्तै नेपाली कांग्रेसले ‘नेपाली डायस्पोरा : अटुट सम्बन्ध, विस्तारित नेपाल’ शीर्षकअन्तर्गत नागरिकताको निरन्तरता, सम्पत्ति र मतदान अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।

advertisement

साहले ‘एक पटकको नेपाली सधैंका लागि नेपाली हुन्छ भने एक पटकको अमेरिकी सधैंका लागि अमेरिकी हुन्छ कि हुँदैन?’ भन्ने प्रश्न उठाउँदै दोहोरो नागरिकताको विषयमा गम्भीर राष्ट्रिय बहस आवश्यक रहेको बताए। उनले नेपालको भूमि आदिवासी जनजातिको भएको उल्लेख गर्दै भ्रम फैलाउने काम बन्द गर्न आग्रह गरे तथा अवैध रूपमा नेपाली सम्पत्ति विदेश लैजाने प्रवृत्ति रोक्नुपर्ने बताए।

उनले कर प्रणाली सुधार, भ्रष्टाचार अन्त्य र अर्थतन्त्र सुदृढीकरणलाई आफ्नो प्राथमिकता बताएका छन्। नेपालमा तीन तहको संघीय संरचना र ७६१ वटा सरकार रहेको उल्लेख गर्दै संघीयताको मर्म धुमिल भएको टिप्पणी गरे। दलतन्त्रको अन्त्य गरी जनतालाई देशको वास्तविक मालिक बनाउने उद्घोष पनि उनले गरे।

साथै मौलापुरको विकास मोडेल देशभर लागू गर्ने घोषणा गर्दै पानी, विद्युत्, शिक्षा र स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने दाबी गरे। आफू प्रधानमन्त्री बने नेपालमा विद्युत्, सञ्चार सेवा (मोबाइल र डाटा) तथा खानेपानी निःशुल्क उपलब्ध गराउने उनको दाबी छ।

प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com