सिमकोट। गत माघ दोस्रो साता परेको हिमपातपछि अवरुद्ध बनेका हुम्लाका प्रमुख सडक खण्डहरू खुलाउन प्रयास सुरु भएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा मतदातालाई आवतजावतमा सहज बनाउन हिउँले बन्द भएका सडक खुलाउने काम तीव्र पारिएको छ ।

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ हिल्सा सडक खण्ड र वडा नम्बर–६ मा पर्ने न्यालु सडक खण्ड हिमपातपछि पूर्ण रूपमा अवरुद्ध बनेका थिए । हिउँ जमेर सडक बन्द हुँदा सर्वसाधारण तथा सवारी साधनको आवागमन ठप्प भएको थियो ।

advertisement

सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दका अनुसार हिल्सा–सिमकोट सडक खुलाउन हिल्सा सिमकोट सडक आयोजनाले स्काभेटर परिचालन गरिसकेको छ । यस्तै नाम्खा गाउँपालिका–६ को लिमी गाउँ जाने सडक खण्डका लागि गाउँपालिका र पूर्वाधार विकास कार्यालयले दुईवटा स्काभेटर प्रयोगमा ल्याएका छन् ।

लिमीका वडाध्यक्ष पाल्जोर तामाङले भने, “मतदानका लागि नागरिकहरू सजिलै मतदान केन्द्रसम्म पुग्न सक्ने गरी सडक खुलाउने कामलाई प्राथमिकता दिइएको छ । हिउँ पन्छाउने कार्य तीव्र रूपमा भइरहेको छ ।”

हुम्लाका उच्च हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम जारी रहेकाले सडक खुलाउने कार्य चुनौतीपूर्ण बन्दै गएको छ । तर निर्वाचनलाई लक्षित गर्दै स्थानीय प्रशासन, गाउँपालिका तथा सडक आयोजनाले संयुक्त प्रयास गरेका छन् । मतदाताहरूलाई निर्वाचनमा सहभागी गराउन सडक सञ्चालनलाई आवश्यकताअनुसार प्राथमिकता दिइने सहायक प्रमुख जिल्ला अधिकारी चन्दले बताएका छन् ।

हुम्लामा निर्वाचनका लागि आवश्यक सुरक्षा तथा व्यवस्थापनका अन्य तयारीहरू पनि अन्तिम चरणमा पुगेका छन् । हिउँ पर्ने सम्भावना रहेकाले मतदान केन्द्रहरूमा पुग्न मतदातालाई सहज बनाउन स्थानीय तहहरूले पनि सहयोग गरिरहेका छन् ।

प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com