सियोल। उत्तर कोरियाली नेता किम जोङ उनले सत्तारूढ वर्कर्स पार्टीको सातौं महाधिवेशनपछि शीर्ष सरकारी तथा सैन्य अधिकारीहरूलाई नयाँ स्नाइपर राइफल उपहार दिएका छन् । राज्य सञ्चालित कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले सार्वजनिक गरेका तस्बिरहरूमा किमकी किशोर छोरी किम जु एको उपस्थितिलाई विशेष रूपमा हाइलाइट गरिएको छ, जसले उनलाई उत्तराधिकारी बनाउने अड्कलबाजीलाई फेरि तीव्र बनाएको छ ।

केसीएनएका अनुसार किमले शुक्रबार पार्टी तथा सेनाका वरिष्ठ अधिकारीहरूलाई राइफल हस्तान्तरण गर्दै सन् २०२१ को अघिल्लो महाधिवेशनयता पाँच वर्षमा देखाएको प्रतिबद्धताप्रति ‘पूर्ण विश्वास’ र कृतज्ञता व्यक्त गरेका थिए । सुटिङ रेन्जमा आयोजित कार्यक्रममा किम स्वयं, उनकी बहिनी किम यो जोङ तथा अन्य उच्च अधिकारीहरूले राइफल परीक्षण गरेको तस्बिर सार्वजनिक गरिएको छ ।

advertisement

रिपोर्टले किमकी बहिनी किम यो जोङलाई पार्टीको केन्द्रीय समितिको सामान्य मामिला निर्देशकको जिम्मेवारीमा रहेको पुष्टि गरेको छ । उनले पछिल्ला वर्षहरूमा वासिङ्टन र सियोलप्रति कडा धारणा राख्दै प्रवक्ताको भूमिका निर्वाह गर्दै आएकी थिइन् । नयाँ जिम्मेवारीले पार्टीको आन्तरिक प्रशासन तथा सञ्चालनमा उनको प्रभाव थप विस्तार भएको सङ्केत दिएको छ ।

तस्बिरहरूमा किमकी छोरी किम जु ए पनि राइफल समातेको देखिएकी छन् । नोभेम्बर २०२२ मा अन्तरमहादेशीय मिसाइल परीक्षणका क्रममा पहिलोपटक सार्वजनिक रूपमा देखिएकी उनलाई हाल करिब १३ वर्षकी मानिन्छ । त्यसयता विभिन्न सैन्य प्रदर्शन, औद्योगिक कार्यक्रम तथा कूटनीतिक भेटघाटमा बुबासँगै देखिँदै आएकी छन् । दक्षिण कोरियाको जासुसी निकायले यसै महिना किम जु एलाई उत्तराधिकारीका रूपमा औपचारिक रूपमा अघि सार्ने सम्भावना रहेको अनुमान सार्वजनिक गरेको थियो ।

सन् २०१६ यता प्रत्येक पाँच वर्षमा आयोजना हुँदै आएको पार्टी महाधिवेशन बुधबार प्योङयाङमा सम्पन्न भएको थियो । बैठकमा किमले उत्तर कोरियाको आणविक शस्त्र कार्यक्रमलाई तीव्रता दिने योजनामा दोहोर्‍याएर जोड दिएका थिए । दक्षिण कोरियाप्रति कडा नीति कायम राख्दै संयुक्त राज्य अमेरिकासँग वार्ताको ढोका खुला रहेको सङ्केत गरे पनि आणविक निशस्त्रीकरणलाई पूर्वशर्त नबनाउन आग्रह गरेका थिए ।

महाधिवेशनपछिको राज्य मिडिया रिपोर्टमा ‘हाम्रो पार्टीको गौरवशाली उत्तराधिकार र विकास सुनिश्चित गर्ने ठोस आधारशिला’ राखिएको उल्लेख गरिएको छ । विश्लेषकहरूले यसलाई भावी उत्तराधिकारबारे अप्रत्यक्ष सन्देशका रूपमा व्याख्या गरेका छन् । पार्टी नियमअनुसार औपचारिक पदका लागि कम्तीमा १८ वर्ष उमेर आवश्यक हुने भएकाले तत्काल औपचारिक घोषणा नभएको सङ्केत गरिएको छ ।

उत्तर कोरियाली नेतृत्वमा किम जु एको निरन्तर उपस्थितिले उत्तराधिकारको बहसलाई जीवन्त राखेको छ । दक्षिण कोरियाली तथा अन्तर्राष्ट्रिय विश्लेषकहरूले उनको भूमिकालाई चासोपूर्वक निगरानी गरिरहेका छन् ।

प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com