रोल्पा। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश अहिले निकै ठूलो अप्ठ्यारो अवस्थामा रहेको बताएका छन् । रोल्पाको सदरमुकाम लिबाङ टुँडिखेलमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले राष्ट्रको स्वाधीनता, जनताको आत्मसम्मान तथा नेपालबारे निर्णय गर्ने अधिकारमाथि विदेशी प्रतिक्रियावादी र तिनका दलालहरूले चुनौती दिइरहेको आरोप लगाए ।

उनले भने, “आज राष्ट्रको एकतालाई अक्षुण्ण राख्ने, राष्ट्रिय स्वाधीनतालाई जगेर्ना गर्ने, सुदृढ गर्ने र एउटा नयाँ शक्तिका साथ विदेशी प्रतिक्रियावादी र तिनका दलालहरूका विरुद्ध नयाँ अभियान चलाउनुपर्ने आवश्यकता पैदा भएको छ ।”

advertisement

प्रचण्डले भदौ २३ गते जेनजी युवाहरूको निर्ममतापूर्वक हत्या गर्ने निरङ्कुश, अहङ्कारी र दम्भी प्रवृत्ति एकातिर र २४ गते विध्वंस गर्ने विदेशी प्रतिक्रियावादीसँग मिलेर राष्ट्रलाई नै ठूलो संकटमा धकेल्ने प्रवृत्ति अर्कोतिर उभिएको बताए । यी दुवै प्रवृत्तिविरुद्ध राष्ट्रिय एकताका लागि नेकपाको गठन भएको स्मरण गर्दै उनले स्वच्छ र निष्पक्ष निर्वाचन भएमा नेकपा पहिलो पार्टी बन्ने पूरै सम्भावना रहेको दाबी गरे ।

उनले भने, “हाम्रो पार्टी पहिलो बन्ने पूरै सम्भावना छ । यो निर्वाचनले राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको रक्षा र समाजवादी विकासको पक्षमा निर्णायक मत प्राप्त गर्ने अवसर हो ।”

रोल्पा जनयुद्धको मुख्य आधार क्षेत्र भएकाले यहाँबाट चुनावी सन्देश दिनु विशेष महत्वपूर्ण रहेको उनले उल्लेख गरे । सभामा नेकपाका उम्मेदवार वर्षमान पुन, पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वसभामुख ओनसरी घर्तीमगर लगायतका नेताहरूले पनि सम्बोधन गरेका थिए । कार्यक्रममा करिब १५ हजारको सहभागिता रहेको आयोजकले जनाएका छन् ।

नेकपाले यसपालि ठूला चुनावी सभा कम गरेर संगठनात्मक परिचालन र घरदैलो अभियानमा जोड दिएको छ । प्रचण्डको यो सम्बोधनलाई पार्टीले चुनावी अभियानको निर्णायक सन्देशका रूपमा लिएको छ ।

प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com