काठमाडौं। इजरायलले इरानमाथि ठूलो सैन्य आक्रमण सुरु गरेपछि खाडी क्षेत्रका प्रमुख मुलुकहरूले आफ्नो हवाई क्षेत्र पूर्ण रूपमा बन्द गरेका छन् । कतार, कुवेत र संयुक्त अरब इमिरेट्स (यूएई) ले हवाई क्षेत्र बन्द गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराले जनाएको छ ।
शनिबार बिहान इजरायलले इरानका विभिन्न सहरहरूमा हवाई तथा मिसाइल आक्रमण गरेको थियो । यसको जवाफमा इरानले पनि इजरायल तथा खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूमाथि ठूलो संख्यामा मिसाइल प्रहार गरेको छ । यो द्वन्द्वले खाडी क्षेत्रमा तनाव चरममा पु¥याएको छ ।
हवाई क्षेत्र बन्द भएपछि अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् । धेरै एयरलाइन्सले खाडीका प्रमुख शहरहरू (दुबई, अबु धाबी, दोहा, कुवेत सिटी) का उडानहरू रद्द वा स्थगित गरेका छन् । यसले यात्रुहरू तथा मालवाहक सेवामा ठूलो असर पारेको छ ।
खाडी मुलुकहरूले यो कदम इरानी मिसाइल तथा इजरायली प्रतिकारबाहीबाट आफ्नो हवाई सुरक्षा सुनिश्चित गर्नका लागि चालेका हुन् । कतारको अल उदेइद हवाई अड्डा, यूएईको अल धाफ्रा एयर बेस तथा अन्य अमेरिकी सैन्य अड्डाहरू इरानी आक्रमणको निशानामा परेका छन् ।
यस तनावले खाडी क्षेत्रमा बसोबास गर्ने लाखौं नेपालीहरूको सुरक्षा पनि जोखिममा परेको छ । साउदी अरेबिया, यूएई, कतार र कुवेतमा कार्यरत नेपालीहरूको संख्या लाखौंमा छ । नेपाल सरकार तथा नेपाली दूतावासहरूले उच्च सतर्कता अपनाएका छन् ।
इरान–इजरायल द्वन्द्वले अब खाडी मुलुकहरूलाई पनि प्रत्यक्ष प्रभावित बनाएको छ । स्थिति अत्यन्त संवेदनशील बनेको छ र थप ठूलो जवाफी कारबाहीको सम्भावना बढेको छ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले आपत्कालीन बैठक बोलाउने तयारी गरेको छ ।
प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया