काठमाडौं। इजरायल तथा अमेरिकाको संयुक्त आक्रमणपछि इरानले मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै ठूलो स्तरको जवाफी हमला सुरु गरेको छ । अल जजिराका अनुसार इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य उपस्थितिलाई सीधा निशाना बनाएको छ ।
इरानको सरकारी वक्तव्यअनुसार अमेरिका आफ्नो भूभाग तथा नेतृत्व संरचनामाथि भएको आक्रमणमा प्रत्यक्ष संलग्न रहेको निष्कर्षपछि क्षेत्रभर रहेका अमेरिकी सैन्य अखडालाई लक्ष गरिएको हो । प्रतिआक्रमण विशेषगरी कतार, बहराइन, कुवेत तथा यूएईमा रहेका अमेरिकी वायुसेना, नौसैनिक तथा मिसाइल प्रतिरक्षा प्रणाली तैनाथ अड्डाहरूतर्फ केन्द्रित छ ।
स्थानीय सञ्चारमाध्यमहरूले विभिन्न स्थानमा विस्फोटका आवाज सुनिएको तथा हवाई सुरक्षा प्रणाली सक्रिय पारिएको उल्लेख गरेका छन् । यद्यपि क्षतिको पूर्ण विवरण सार्वजनिक भइसकेको छैन ।
यो युद्धको प्रत्यक्ष असर खाडी क्षेत्रमा बसोबास गर्ने लाखौं नेपाली श्रमिकहरूमा परेको छ । साउदी अरेबिया, यूएई (दुबई, अबु धाबी), कतार, कुवेत तथा बहराइनमा गरी लाखौं नेपाली कार्यरत छन् । यी देशहरूमा रहेका अमेरिकी सैन्य संरचनामाथि भएको आक्रमणले नेपाली समुदायमा पनि त्रास फैलिएको छ ।
यूएईले आफ्नो हवाई क्षेत्र आंशिक रूपमा बन्द गरेको छ भने दुबईका सबै अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् । कतार, कुवेत तथा अन्य खाडी मुलुकहरूले पनि उच्च सतर्कता अपनाएका छन् । नागरिकलाई अनावश्यक आवागमन नगर्न तथा सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।
नेपाल सरकारले यसअघि नै इजरायल तथा इरानमा रहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन तथा तत्काल यात्रा नगर्न एडभाइजरी जारी गरिसकेको छ । परराष्ट्र मन्त्रालय तथा नेपाली दूतावासहरूले नेपाली समुदायसँग सम्पर्क बढाएर सुरक्षा जानकारी प्रवाह गरिरहेका छन् ।
स्थिति अत्यन्त तनावपूर्ण बनेको छ र थप ठूलो जवाफी कारबाहीको सम्भावनाले मध्यपूर्वमा युद्धको खतरा बढेको छ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले आपत्कालीन बैठक बोलाउने तयारी गरेको छ ।
प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार












प्रतिक्रिया