काठमाडौं। इजरायल तथा अमेरिकाको संयुक्त सैन्य आक्रमणमा इरानको राजधानी तेहरानमा शनिबार बिहान भएको सटीक हमलामा सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित ४० जनाभन्दा धेरै उच्चपदस्थ अधिकारी मारिएको मिडिया रिपोर्टहरूले जनाएका छन् ।
चीनको राज्य प्रसारक चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) ले आइतबार प्रकाशित गरेको रिपोर्टमा यो जानकारी सार्वजनिक भएको हो । इरानी राज्य टेलिभिजनले पनि सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि गर्दै ४० दिनको राष्ट्रिय शोक घोषणा गरेको छ । यो घटनालाई इस्लामिक गणतन्त्र इरानको इतिहासमा सबैभन्दा महत्वपूर्ण नेतृत्व परिवर्तनमध्ये एकका रूपमा हेरिएको छ ।
इरानी मिडियाका अनुसार आक्रमणमा रक्षा परिषद् सचिव तथा सर्वोच्च नेताका वरिष्ठ सल्लाहकार अली शमखानी, इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) का कमाण्डर मेजर जनरल मोहम्मद पाकपुर, रक्षा मन्त्री ब्रिगेडियर जनरल अजीज नासिर जादेह तथा इरानी गुप्तचर प्रमुख पनि मारिएका छन् । अमेरिकी तथा इजरायली सेनाले यो आक्रमण गरेको आरोप लगाइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी २८ को बिहानै गरिएको आक्रमणमा खामेनी मारिएको दाबी गरेका थिए । अमेरिकी मिडिया एक्सियोस लगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि शमखानीसहित अन्य वरिष्ठ अधिकारीहरूको मृत्यु पुष्टि गरेका छन् ।
सत्ताको अचानक रिक्तता तथा नेतृत्व संकटसँग सामना गरिरहेको इरानमा क्षेत्रीय तनाव तीव्र बनेको छ । मध्यपूर्वका विभिन्न भागहरूमा हवाई क्षेत्र बन्द गरिएको छ भने उच्च सैन्य सतर्कता जारी छ । खाडी मुलुकहरूमा रहेका अमेरिकी सैन्य अड्डाहरूमाथि इरानको जवाफी हमला जारी रहँदा स्थिति झन् जटिल बन्दै गएको छ ।
यो घटनाले मध्यपूर्वको शान्ति प्रक्रियामा ठूलो धक्का पुगेको छ । लाखौं नेपाली श्रमिकहरू कार्यरत खाडी मुलुकहरूमा पनि सुरक्षा चिन्ता बढेको छ । नेपाल सरकारले इजरायल तथा इरानमा रहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन तथा यात्रा नगर्न यसअघि नै एडभाइजरी जारी गरिसकेको छ ।
प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार












प्रतिक्रिया