काठमाडौं। सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या पछि इरानले संक्रमणकालीन अवस्थालाई व्यवस्थापन गर्न अस्थायी नेतृत्व परिषद गठन गरेको छ । इरानी राज्य नियन्त्रित सञ्चारमाध्यम इस्लामिक रिपब्लिक न्यूज एजेन्सी (इरना) ले आइतबार यो जानकारी पुष्टि गरेको हो ।
इरानको संविधानको धारा १११ अनुसार सर्वोच्च नेताको मृत्यु वा असमर्थता भएमा गठन हुने यो तीन सदस्यीय परिषदमा वर्तमान राष्ट्रपति मसूद पेजेश्कियान, न्यायपालिकाका प्रमुख तथा गार्डियन काउन्सिलबाट चयन गरिएको एक वरिष्ठ धर्मगुरु समावेश छन् । दिवंगत सर्वोच्च नेताका एक निकट सहयोगीले परिषदले नयाँ सर्वोच्च नेता चयन नभएसम्म राज्य सञ्चालनको जिम्मेवारी वहन गर्ने बताएका छन् ।
असेम्बली अफ एक्सपर्ट्स (विशेषज्ञ सभा) ले चाँडै नयाँ सर्वोच्च नेता चयन गर्न परामर्श प्रक्रिया सुरु गर्ने अपेक्षा गरिएको छ । यो घटनाक्रम इजरायल तथा अमेरिकाको संयुक्त आक्रमणपछि इरानमा उत्पन्न राजनीतिक तथा सुरक्षा संकटबीच आएको हो ।
न्यूयोर्क टाइम्सको हालैको रिपोर्टअनुसार खामेनीले इजरायल र अमेरिकाबाट बढ्दो खतरा माझ आफ्नो सम्भावित हत्या वा हटाइने अवस्थालाई ध्यानमा राख्दै तयारी गरेका थिए । रिपोर्टमा उल्लेख भएअनुसार उनले आफ्ना निकट सहयोगी अली लारिजानीलाई थप अधिकार दिँदै जनवरीमा भएको विरोध प्रदर्शनको समयमा प्रमुख जिम्मेवारी सुम्पेका थिए ।
यो नेतृत्व परिवर्तनले इरानको आन्तरिक राजनीति तथा मध्यपूर्वको क्षेत्रीय तनावमा थप अनिश्चितता थपेको छ । खाडी क्षेत्रमा अमेरिकी सैन्य अड्डाहरूमाथि इरानको जवाफी हमला जारी रहँदा स्थिति झन् जटिल बन्दै गएको छ । लाखौं नेपाली श्रमिकहरू कार्यरत खाडी मुलुकहरूमा पनि सुरक्षा चिन्ता बढेको छ । नेपाल सरकारले इजरायल तथा इरानमा रहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन तथा यात्रा नगर्न यसअघि नै एडभाइजरी जारी गरिसकेको छ ।
प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया