काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा अब पार्टीको अभिभावक रहेको बताउँदै उनलाई सम्मान गर्नुपर्ने र वर्तमान सभापति गगनकुमार थापालाई शासन सुम्पिनुपर्ने बताएका छन् ।

शनिबार सुदूरपश्चिम प्रदेशको अछाममा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले साँफेबगर र कमल बजारमा अलग-अलग स्थानमा आयोजित कार्यक्रममा यस्तो धारणा राखेका हुन् । उनले भने, “देउवालाई सम्मान, गगनलाई शासन यही नै अहिलेको आवश्यकता र यथार्थ हो । पार्टीका उम्मेदवार र रुख चिन्हलाई विजयी गराउन वर्तमान र निवर्तमान दुवै नेतृत्वको उत्तिकै दायित्व रहेको छ ।”

advertisement

उनले सुदूरपश्चिमकै माटोबाट उदाएर राष्ट्रको नेतृत्व गरिसकेका नेताको यो क्षेत्रले फागुन २१ को निर्वाचनबाट तुलनात्मक रूपमा अन्य प्रदेशभन्दा बढी राम्रो परिणाम दिएर इतिहास कायम गर्नुपर्ने आह्वान गरे । सुदूरपश्चिमले पार्टीको नयाँ ऊर्जा विकास गर्ने र देउवा अभिभावक तथा गगन नेतृत्वको यथार्थ आत्मसात् गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

उपसभापति शर्मा शनिबार गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको गुल्मी हुँदै कर्णाली प्रदेशको डोल्पाको चुनावी सभामा सहभागी भएर सुदूरपश्चिम पुगेका थिए । उनले विभिन्न स्थानमा आयोजित सभामा कांग्रेसका उम्मेदवारहरूलाई जिताउन मतदातालाई अपिल गरेका थिए ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा कांग्रेसले सुदूरपश्चिममा आफ्नो संगठनात्मक तथा चुनावी अभियानलाई तीव्र पारेको छ । उपसभापति शर्माको यो भ्रमण तथा सम्बोधनलाई पार्टीले क्षेत्रीय एकता तथा विजयको सन्देशका रूपमा लिएको छ ।

प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com