काठमाडौं । फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै गृहमन्त्री ओमप्रकाश अर्याल नेतृत्वको उच्चस्तरीय सुरक्षा टोली सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा अनुगमन तथा निरीक्षणमा निस्किएको छ ।
टोलीमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायतका उच्च अधिकारी सहभागी छन् । निर्वाचन सुरक्षाको अवस्था बुझ्न प्रतिनिधिमण्डलले आज बाँकेको नेपालगन्ज हुँदै बझाङ, बाजुरा र धनगढी पुगेर मतदान केन्द्रहरूको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।
गृहमन्त्रीका निजी सचिव परशुराम पोखरेलका अनुसार टोलीले निर्वाचन सुरक्षाको तयारी, समग्र वातावरण र जिल्लास्थित मतदान केन्द्रहरूको अवस्था अवलोकन गरी सम्बन्धित सुरक्षा निकायलाई आवश्यक निर्देशन दिनेछ ।
यसअघि शुक्रबार गृहमन्त्री अर्याल र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी सहितको टोलीले दोलखा, ओखलढुङ्गा, मोरङ, रौतहट र पर्सामा निर्वाचन तयारी तथा शान्ति सुरक्षाको अवस्थाबारे जिल्ला सुरक्षा समिति, प्रमुख राजनीतिक दल, प्रमुख मतदान अधिकृत तथा सरोकारवालासँग छलफल गरेको थियो ।
सरकारले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ । निर्वाचन नजिकिँदै जाँदा सुरक्षासहित आवश्यक सम्पूर्ण बन्दोबस्ती पूरा गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
निर्वाचन सुरक्षा रणनीति अन्तर्गत निर्वाचनअघि, निर्वाचनको समयमा र निर्वाचनपश्चात् मतपत्रको सुरक्षा सुनिश्चित गर्न प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत निर्वाचन योजना २०८२ अनुरूप काम भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया