एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई नयाँ कडा चेतावनी दिएका छन्। उनले भनेका छन्, ‘यदि तेहरानले आक्रमण जारी राख्यो भने हामीले पहिले कहिल्यै नदेखेको शक्तिसहित प्रतिकार गर्नेछौँ।’
इरानले आफ्ना सर्वोच्च नेता आयतोल्ला अली खामेनीको हत्या गरिएको बदला लिने वाचा गर्दै अमेरिकी र इजरायली सैन्य अड्डामा नयाँ आक्रमण सुरु गरेसँगै ट्रम्पले यो चेतावनी दिएका हुन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘इरानले भर्खरै भनेको छ कि उनीहरूले आज अत्यन्त कडा प्रहार गर्नेछन्, पहिले कहिल्यै नगरेको भन्दा कडा। तर उनीहरूले त्यसो नगर्नु राम्रो हो। यदि गरे भने, हामी उनीहरूलाई कहिल्यै नदेखिएको शक्तिसहित हिर्काउनेछौँ।’
सर्वोच्च नेताको हत्या पछि मध्यपूर्वमा तनाव बढेको छ। अमेरिकी र इजरायलले संयुक्त रूपमा ‘अपरेशन एपिक फ्युरी’ सञ्चालन गर्दै आएका छन्। इरानी सञ्चारमाध्यमका अनुसार खामेनी आफ्नो परिसरमै मारिएका थिए। यस आक्रमणमा उनका छोरी, ज्वाइँ र नातिनीको पनि मृत्यु भएको छ।
इरानी जनता खामेनीलाई श्रद्धाञ्जली अर्पण गर्न इस्फहानमा हजारौंको संख्यामा भेला भएका थिए। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले खामेनीको शरीरको तस्बिर समेत हेरिसकेका छन्। इजरायली रक्षामन्त्री इजरायल काट्जले खामेनीको मृत्युमा खुशी व्यक्त गर्दै नेतान्याहू र सेनालाई बधाई दिएका छन्।
इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिका र इजरायललाई चेतावनी दिएका छन् कि ‘रेड लाइन’ पार गरे ठूलो मूल्य चुकाउनुपर्नेछ। उनले बताए, ‘इरानले यति बलियो प्रतिकार गर्नेछ कि उनीहरू (अमेरिका र इजरायल) मद्दत माग्न बाध्य हुनेछन्।’
इरानको संविधानको धारा १११ अनुसार नयाँ सर्वोच्च नेताको निर्वाचन नभएसम्म अस्थायी परिषद्ले देशको कार्यभार सम्हाल्छ। यस परिषद्मा राष्ट्रपति मसूद पजास्कियान, सर्वोच्च अदालतका प्रधानन्यायाधीश घोलाम–होसेन मोहसेनी–एजेई र अभिभावक परिषद्का एक धर्मगुरु रहेका छन्।
अस्थायी परिषद्ले नयाँ सर्वोच्च नेताको औपचारिक निर्वाचन नभएसम्म प्रशासनको काम चलाउँछ। हाल इरानले दुबई, अबुधाबी, कतार र बहराइनसहित खाडी क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरिरहेको छ। अमेरिकी सैन्य अड्डा यस आक्रमणको लक्ष्यमा छन्।
ट्रम्पले यसअघि अमेरिकी जनताको सुरक्षा र इरानको खतरा अन्त्यका लागि सैन्य कारबाही आवश्यक भएको दाबी गरेका थिए। खामेनीको हत्यापछि उनले इरानसँग वार्ता गर्न सजिलो भएको पनि बताएका छन्। ट्रम्पले ८६ वर्षीय खामेनीलाई ‘इतिहासकै सबैभन्दा दुष्ट व्यक्ति’ समेत भनेका छन्।
उनले भनेका छन्, ‘यो न्याय केवल इरानी जनताका लागि मात्र होइन, तर अमेरिकी जनतासहित विश्वभरका ती मानिसहरूको लागि हो, जसलाई खामेनी र उनका रक्तपिपाही गुण्डाहरूले मार्दै वा अंगभंग गर्दै आएका थिए।’
प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया